यस्ता छन एनआरएनए ओसेनीया सम्मेलनका मुख्य एजेन्डा

सिड्नी: पहिलो पटक विज्ञ सम्मेलन गर्न सफल भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) पछिल्लो समय विभिन्न क्षेत्रमा क्षेत्रीयस्तरका सम्मेलनमार्फत विदेशी ज्ञान, सिप, प्रविधि भित्र्याउन लागिपरेको छ । विशेष गरि एनआरएन पूँजीपतिको मात्र संस्था भएको आलोचना भइरहँदा पहिलो पटक विज्ञ सम्मेलन सम्पन्न गर्दै विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यको थालनी गरेको एनआरएनले हरेक वर्ष विज्ञ सम्मेलन आयोजना गरिरहने घोषणा समेत गरिसकेको छ ।

एनआरएनमा हरेक वर्ष क्षेत्रीय स्तरका सम्मेलन विगतमा पनि हुने गर्दथ्यो । तर विज्ञ सम्मेलनपछिका अधिकांश सम्मेलन विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा प्रयासरत देखिन्छन् । सन २०१९ लागेपछि सम्भवत पहिलो पटक आयोजना हुन लागेको एनआरएन ओसेनियाको क्षेत्रीय सम्मेलन पनि त्यसैमा केन्द्रित गरिएको छ ।

चैत दोस्रो साता लगानी सम्मेलनमा नेपाल सरकारसँग हस्ताक्षरित सम्झौता अनुसार कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उपाध्यक्ष कुमार पन्तका अनुसार कार्यपत्रमा १० अर्ब लगानीको आधार, यसको मेकानिजम, प्रतिफलको ग्यारेण्टीलगायतका विषय समेटिनेछ । लगानी सम्मेलनका क्रममा एनआरएनले सरकारसँग नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी समझदारी गरेको थियो । त्यसको लागि एनआरएन कार्यदलको संयोजक पन्त हुनुहुन्छ ।

त्यस्तै, कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नुहुनेछ । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नाराका साथ गरिन लागिएको सम्मेलन नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार तथा प्रबद्र्धनमा समेत केन्द्रित गरिनेछ ।

सम्मेलनको पहिलो दिन नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गर्दै समापन गर्ने कार्यक्रम तय गरिएको एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले जानकारी गराउनुभयो ।

भोलीदेखि शूरु हन लागोको सम्मेलनमा लगभग सबै अतिथिहरु आइसक्नु भएको छ । सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै कानुनमन्त्री भानुभक्त ढकाल आइसक्नु भएको छ । सम्मेलनमा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक समेत आइसक्नु भएको छ ।

कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट शनिबार आउने कार्यक्रम रहेको जनाइएको छ । कार्यक्रममा उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएन अभियन्ता श्याम तामाङ, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारीलगायत सहभागि भइसक्नु भएको छ ।  अष्ट्रेलियामा रहनु भएको एनआरएनका पूर्व अध्यक्ष शेष घले, एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, जमुना गुरुगं, एनआरएनएन पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा पनि सम्मेलनमा सहभागि हुनुहुनेछ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १८:३९