हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिने खालका अभिब्यक्ती नदिन प्रचण्डलाई महेश बस्नेतको चेतावनी

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक व्यक्तिलाई नभई जनावरलाई समेत लट्ठीले हान्न नपाउने व्यवस्था भएका कारण पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा लट्ठी खाने अभिव्यक्ति दिनु हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्साले बीरगञ्जमा आयोजना गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले लट्ठी खान नै मन हुनेलाई आगामी बैशाख १७ र २७ को निर्वाचनमा जनताले दिने समेत चेतावनी दिनुभयो । निर्वाचनमा अब लट्ठी खाने पालो प्रचण्डको आएको उल्लेख गर्दै नेता बस्नेतले निर्वाचन पछि लड्डु खाने पालो प्रधानमन्त्री केपी ओलीको हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘परिवर्तित नेपाली समाजमा कुकुरलाई समेत लट्ठीले हान्नु हुँदैन भन्ने विकास भएको छ । तर प्रचण्डले आन्दोलनको नाममा आफुलाई लट्ठी हान्नुहोस् भनि भन्नुहुन्छ भने अव तपाईको हैसियत कुकुर भन्दा पनि कम भएछ । तपाईलाई लट्ठी खान नै मन छ भने आगामी बैशाख १७ र २७ को निर्वाचनमा आउनुस्, जनताले मजाले दिनेछन् । लट्ठीको सट्टा लड्नु खुवाएछन् भने त्यो पनि हेरौंला । त्यसपछि तपाईको इच्छा पुरा हुन्छ । लोपन्मुखमा पर्नुहुन्छ, टर्चलाईट लगाएर खोज्ने दिन आउनेछ । लट्ठी खाने हो की लड्डु खाने हो ? त्यो फैसला गर्ने अधिकार नेपाली जनतामा रहेको छ । अब लट्ठी खाने पालो प्रचण्डको हो । निर्वाचन पछि लड्डु खाने पालो प्रधानमन्त्री केपी ओलीको हुन्छ ।’

आफु निकट गुटका युवा विद्यार्थीको हिजो एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अबको आन्दोलन साहाकारी नभई मांसहारी हुने गरी आक्रामक रुपमा प्रदर्शन गर्न निर्देशन दिनुभएको थियो । जसले गर्दा मुलुकमा पुनः अराजकता, अस्थिरता, हिंसा, आतंकको बाटोमा मुलुक पुनः फस्ने सम्भावना देखिएको छ । प्रचण्डको निर्देशनसँगै केही मात्रामा भौतिक आक्रमणका घटनाहरु समेत शुरु भएको छ ।


प्रकाशित | ५ माघ २०७७, सोमबार २१:२७