नेकपा र चुनाव चिन्ह सुर्य नपाए आँधीहुरी बतास ल्याउने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा र चुनाव चिन्ह सुर्य नपाए आँधीहुरी बतास आउँने प्रचण्डको चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो “हाम्रो पार्टीको नाम र चुनाव चिन्ह सुर्य हाम्रै हुनेछ । म यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । यदि त्यसो भएन भने यहाँ कयामत आउँछ । यहाँ आँधीहुरी बतास आउँछु । केपी ओलीले संविधान मिचेजस्तै गरेर, केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमाथि छुरा प्रहार गर्‍या जस्तै । यदि अरु संवैधानिक निकायहरुले पनि त्यही गर्न थाले भने यो देश यि नेपाली जनता हेरेर बस्न सक्छन् ? आँधीहुरी बतास आउँछ । ”

प्रधानमन्त्री ओलीले आफनो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिँदै आएको उल्लेख गर्दै ओलीकै ‘जोकर पन’को पछाडि लागेर निर्णय भए मुलुकमा ‘आँधीहुरी बतास’ आउने चेतावनी दिनुभयो । ओलीले पार्टीले काम गर्न नदिएर संसद विघटन गरेको भन्दै झुट बोलेर जनतामा भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप प्रचण्डले लगाउनुभयो ।

संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कलंकको टीका लगाएको बताउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “संविधानविपरीत जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गरेर ओली इतिहासमा नै कलंकित हुन पुगे ।”

त्यस्तै, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “पोलिटिकल जोकर”को संज्ञा दिनुभएको छ । उहाँले भन्नुभयो “नौटंकी प्रहसन भइरहेको देख्नुभएको छ । यो विक्षिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ । कहिलेकाही साथीहरु विक्षिप्त भएछन् कि भन्ने डर लाग्छ उनीहरुको तर्क सुन्दा । कहिलेकाही साथीहरु जोकरमा परिणत हुनुभएछ क्यारे जस्तो लाग्छ । पोलिटिकल जोकर । जोकर जस्तो लाग्छ । ४ सय ४१ जनाको केन्द्रीय समिति, सय जना जुटेर ११ सय जनाको केन्द्रीय समिति बनायौं भन्ने यो नौटंकी नभए के हो यो ? यो नेपालमा प्रहसन देखाउन खोजेको नभए के चाही हो यो रु यो विक्षिप्त र बहुखुलाहट मानसिकताको उपज नभए के हो रु भनेर हामीले प्रश्न किन नगर्ने ? ”

केन्द्रीय समितिको दुई तिहाई बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने विधानमा नै लेखिएको भन्दै उहाँले सय जनाले विधान संशोधन गरेर ओलीले नाटक गरेको आरोप लगाउनुभयो । पार्टीको विधान निर्वाचन आयोगमा नै दर्ता भएको र दुई तिहाई बहुमतबिना विधान संशोधन कसैले गर्न नसक्ने र दलसम्बन्धी ऐनमा ५० प्लस केन्द्रीय समिति संख्या भएको नै आधिककारिक पार्टी हुने भएकाले आफूहरु नै आधिकारिक भएको दोहोर्‍याउनुभयो । सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति आफूहरुलाई भरोसा रहेको तर उनीहरु पनि ओलीको राजनीतिक जोकरपनको पछाडि लागे भने मुलुकमा ठूलो आँधीहुरी आउने चेतावनी दिनुभयो ।

अध्यक्ष प्रचण्डले अध्यादेश ल्याएर र नेकपा एमालेको पार्टी दर्ता गराउन लगाएर पार्टी फुटाउने प्रयास गरेका ओलीले संसद विघटन गरेर “घर मै आगो” लगाइदिएको दाबी गर्नुभयो । संसद विघटन गरेर ओलीले इतिहासमा नै कलंकको टीका लगाएको दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “घरमै आगो लगाइदिनुभयो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने काम गर्नुभएको छ । उहाँले बाजी हार्नुभयो । उहाँले लडाई हार्नुभयो । जब उहाँले लोकतन्त्रमाथि प्रहार गर्नुभयो र संविधानमाथि आक्रमण गर्नुभयो । उहाँले लडाई हार्नुभयो । जतिबेला विदेशीको इशारामा फेरि एकचोटी नेपाल राष्ट्रको अस्मितामाथि प्रहार गर्ने जमर्को गर्नुभयो उहाँले लडाईँ हार्नुभयो । त्यसकारण मैले भनेको छु इतिहासमा अब केपी ओलीले कलंकको टीका लगाउनुभयो । यो मेटिँदैन । ”


प्रकाशित | २९ पुष २०७७, बुधबार १९:२७