आज खण्डग्रास सूर्यग्रहण : के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ : आज (आइतबार ) बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ (स्पर्श )हुनेछ ।

समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रबाट ९३ प्रतिशत सूर्यग्रहण देख्न सकिन्छ । त्यसैगरी काठमाडौँ र जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, भद्रपुर झापाबाट ८१ प्रतिशत र महेन्द्रनगर, कञ्चनपुरबाट ९३ प्रतिशत सूर्यलाई ग्रहणले ढाकेको देख्न सकिन्छ ।

डा. शर्माका अनुसार सूर्यग्रहण खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नुहुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र अवलोकन गर्न सकिन्छ ।

सूर्यग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त हुन नसकेको शर्माको तर्क छ । खगोलीय मान्यता अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेर चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्यग्रहण लाग्छ । सूर्यग्रहण खग्रास, खण्डग्रास वा वलयाकारको हुनसक्छ ।

पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्षपछि मात्र लाग्छ । चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलामा बाहिर स्पर्श रेखाद्वारा निर्मित शङ्कु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्ण रूपले नपर्ने हुँदा पृथ्वीका केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।


प्रकाशित | ७ असार २०७७, आईतवार ०७:२८