चिसो बढेपछि मध्य तराईको जनजीवन कष्टकर

रौतहट । विगत केहि दिनदेखि जारी शीतलहर र बाक्लो हुस्सुका कारण अत्यधिक चिसो बढेपछि रौतहटसहित मध्य तराईका जिल्लाहरुको जनजिवन कष्टकर बनेको छ ।
बाक्लो मात्रामा हुस्सु लागेर चिसो हावासमेत चल्न थालेपछि मध्य तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, लगायतका जिल्लाहरुको जनजिवन कष्टकर बनेको छ ।
शीतलहरसँगै अत्यधिक जाडो बढेपछि बालबालिका तथा वृद्धवद्धा त्यसको प्रत्यक्ष मारमा परेका छन् भने जाडोबाट दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र चालकहरु पनि प्रभावित भएका छन् ।
विगत दुई दिनदेखि दिनमा तथा रातमा बाक्लो सितलहर चलेका कारण जनजीवन झनै कष्ठकर बनेको छ । चिसोका कारण बजारमा किनमेल गर्ने सर्वसाधारणको संख्या घटेको छ भने चौक चौतारो, बाटोघाटो र सार्वजनिक स्थलमा आगो ताप्नेहरुको संख्या बढेको छ ।
चिसोका कारण स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप समेत बढेको छ । अत्याधिक चिसोका कारण रौतहटका स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्यामा लगातार वृद्धि हुँदै गएको छ ।
चिसोका कारण जिल्लाको सदरकमुकाम गौरका साथै गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, समनपुर लगायतका शहरका स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाका बिरामीको सङख्या बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । जाडो तथा शीतलहरका कारण बालबालिकामा निमोनिया रोग बढी देखा परेको छ भने वृद्धबृद्धामा दमको रोग बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।


प्रकाशित | २७ पुष २०७७, सोमबार १२:५०