एनआरएनएद्धारा हालसम्म ९ हजार ६ सय ५० श्रमिकलाई राहत, करिब २ लाखको उद्धार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ’कोभिड १९’ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।

विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ ।

बिभिन्न दात्री संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।

हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाण्डौबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडा स्वरुप आर्थिक सहयोग समेत गरेको छ । सँघले देशका सातै प्रदेशमा १४ लाख रुपैया बराबारको स्वास्थ्य सामग्री हस्तात्तरण गरेको छ ।


प्रकाशित | २६ पुष २०७७, आईतवार १३:२०