सुन्तलाबोट सुन फल्ने बोटः तनहुँका कृषकले कमाए २३ करोड

अमरराज नहर्की /तनहुँ

‘सुनकै भाउ छ सुन्तला भारीको
चाखी जानु भन्ने मन टाढी गो…’
बोलको कुन्ती मोत्तानले गाएको यो गीत ठ्याक्कै मेल खान्छ सुन्तलाको ग्राहकको लागि । सुन्तला चाखी खानु भनेर पठाउनेको मन टाढिएकाले सुन्तला किन्नु पर्ने अवस्था छ । कृषकले केही समय पहिलासम्म आफूले खान, आफन्तलाई कोसेलीको रुपमा पठाउन घर वरिपरि शौख तथा सौन्दर्यताको लागि हुर्काउने सुन्तलाको बोट अहिले व्यावसायिक बनाएका छन् । व्यावसायिक रुपमा सुन्तलाको बोट हुर्काएर कृषकहरु लखपति बन्न सफल भएका छन् । लखपति बनेका कृषकका लागि सुन्तलाबोट सुन फल्ने बोट जस्तै भएको छ ।

केही वर्ष पहिलेसम्म आफन्तलाई कोशेली पाको पारेर पठाउन र आपूmले खाएर ठिक्क हुने सुन्तला कृषक शुकनारायण श्रेष्ठलाई सुन सरी भएको छ । बोटमा सुन्तला हैन सुन फले जस्तो लाग्छ श्रेष्ठका लागि । ‘सुन्तला बेचेर वार्षिक रुपमा ६० देखि ६५ लाख रुपियाँ आम्दानी भएको छ कृषक श्रेष्ठले भन्नुभयो, पहिला सौखिनको लागि पालिएको सुन्तला अहिले सुन जस्तो भएको छ’ ।

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला बेचर लखपति बनेका कृषक श्रेष्ठ तनहुँको सबैभन्दा धेरै सुन्तला बेच्ने नमुना कृषक हुनुहुन्छ । सोही ठाउँका विश्वबहादुर अधिकारी अहिले राजनीति छाडेर सुन्तलाको व्यावसायिक कृषक बन्नुभएको छ । साविक जिल्ला विकास समितिको दुई पटक सभापति हुनुभएका अधिकारी र उहाँको भाई निर्मल अधिकारी मिलेर गरेको सुन्तला खेतीबाट वर्षिक रुपमा रु ६० देखि ६५ लाख कमाउनुहुन्छ । राजनीतिमा निष्कृय बन्दै जानुभएका अधिकारी सुन्तला खेतीबाट नाम पनि दाम पनि मिल्न थाले पछि त्यसमै रमाउनुभएको छ ।

आफन्तलाई कोशेली बनाएर खाएर ठिक्क हुने सुन्तला अहिले व्यावसायिक बनाउनु भएको छ । सुन्तला किन्न ठेकदार बगैंचामै टिपेर बोटमा सुन्तला निख्रि सकेको कृषक निर्मलबहादुर अधिकारीले बताउनुभयो । ‘बजारमा गए किनेर खान सुन्तला पाईन्छ यतिबेला बगानमा आए सुन्तला छैन बोट भएको दाना निख्रिसके’ अधिकारीले भन्नुभयो । उमाचोकबाट मात्रै दुई करोड दुई लाखको सुन्तला कृषकले बिक्री भएको र गाउँका सबै सबै बोटमा सुन्तला निख्रिसकेको उमाचोक सुन्तला बल्क क्षेत्रका अध्यक्ष समेत रहनुभएका अधिकारीले जानकारी दिनुभयो । ‘चखाउनको लागि भनेर कसैले राख्दैनन्, सुन जस्तै भयो सुन्तला सबैलाई बिक्री गरेर गोजी भर्ने ध्यान छ’ अधिकारीले गोरखापत्रसँग भन्नुभयो । आफ्नो परिवारले मात्रै ८५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएको र यस वर्ष ६० लाख रुपियाँ आम्दानी भएको अधिकारी जानकारी दिनुभयो । गत वर्ष ६५ लाख रुपियाँ सुन्तला बिक्रीबाट आम्दानी भएको उहाँले बताउनुभयो ।

सुन्तला बेचेर चालु आर्थिक वर्षमा जिल्लाका कृषकले रु २३ करोड रुपियाँ आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । पानी धेरै परेकाले सुन्तला गत वर्षभन्दा पाँच करोड रुपियाँ आम्दानी घटेको तिवारीले जानकारी दिनुभयो । यो वर्ष एक हजार ५८० हेक्टर जमिनमा सुन्तला खेती भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अघिल्लो वर्ष एक हजार ५६० हेक्टर सुन्तला लगाईएकोमा आठ हजार मेट्रिकटन सुन्तला विक्री भएको थियो । सुन्तला किन्न ठेकदारहरु वगैंचामा नै पुग्ने गर्छन् । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौँ, चितवन, नवलपराशी लगायतका सहरमा निर्यात हुँदै आएको छ ।

शुक्लागण्डकी नगरपालिका–११ को राईपुर, म्याग्दे गाउँपालिकाकाको वडा नम्बर १, २ र ३ मा पर्ने उमाचोक र आसपासको क्षेत्र, व्यास नगरपालिका–१३ को बेनिकोट, देवघाट गाउँपालिकाको वडा नम्बर २ र ३ को छिपछिपे सुन्तला खेतीको व्लक क्षेत्र रहेको केन्द्रका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले जानकारी दिनभयो । त्यसैगरी व्यास नगरपालिका–११ को तनहुँसुर, घिरिङ गाउँपालिकाको वडा ५ र ३ को च्याचुल र उवाथोक बन्दीपुर, घाँसीकुवा, सुन्तला खेतीको पकेट क्षेत्र हुन् । पकेट तथा ब्लक क्षेत्रका नर्सरी र प्लाष्टिक पोखरी निर्माण, झार तथा हाँगा काट्ने मेशिन र प्राविधिक सहयोग उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–२ पतेनीमा सुन्तला उत्पादनको लागि यो वर्ष ब्लक थप गर्ने योजना रहेको केन्द्रले जनाएको छ । सदरमुकाम दमौलीमा हाल एक सय देखि १४० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री भएको छ । गोरखापत्र दैनीकमा समचार प्रकाशित छ ।


प्रकाशित | २४ पुष २०७७, शुक्रबार १०:१७