राष्ट्रियसभा चुनावपछि कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने घोषणा गर्नु भएको छ । शेखर कोइराला समूहका नेताहरुको छलफलमा बुधबार बोल्दै महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन नगर्ने घोषणा गर्नु भएको हो ।

उहाँले तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्ने र चुनावी गठबन्धन नगर्ने समेत बताउनु भयो । महामन्त्री थापाले शेखर कोइरालालाई बेवास्ता गरेर पार्टी नचल्ने पनि बताउँदै भन्नु भयो, ‘महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्नु दम्भ हो ।’

पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा त्यस्तो हुन नसकेको उहाँले बताउनु भयो । पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने उहाँको भनाइ छ ।


प्रकाशित | २१ पुष २०७८, बुधबार १९:०५