ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकासः खिमलाल भट्टराई

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताउनु भएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधि सभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताउनुभयो ।

सरकारलाई काम गर्न नदिईएको, संसद र सरकारलाई साधारण ढंगले चल्न नदिईको कारण राजनीतिलाई अस्थिरतातिर जान र धमेलिएको राजनीतिलाई सङग्ल्याउन निर्वाचनमा जानु अनिवार्य आवश्यकता भएको बताउनुभयो । संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान निर्वाचनले नै दिनसक्ने भएकोेले सबै चुनावतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘धमेलिएको राजनीतिलाई संङल्याउन जनतामा जानु अनिवार्य आवश्यकता बन्न गयो । यसैको परिणामस्वरुप प्रतिनिधि सभाको विघटन र चुनाव मिति घोषणा भयो । प्रतिनिधि सभा विघटनको संविधानमा व्यवस्था नै छैन भन्ने कुरा गलत हो । धारा ७६ र ८५ मा व्यवस्था छ । संसद विघटन गरेर जनतामा जाने कुनैपनि लोकतन्त्र व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकार सुरक्षित रहन्छ । यो नै लोकतन्त्रको मुल्य र मान्यता हो । ताजा जनादेशका लागि चुनावमा जानु नै आजको राजनीतिको सहि निकास हुन्छ ।

अरु कुनै विकल्पले मुलुकलाई अस्थिरता र द्धन्दतिर नै लैजान्छ । आजको राजनीतिको सहि समाधन निर्वाचनले नै दिन सक्छ । त्यसैले सबै चुनाव तिर ने केन्द्रीत हौँ ।’ प्रमुख सतेचक भट्टराईले सरकारले काम गरेन भनि जनतामा निराशा फैलाउने दुष्प्रचार गरिएको समेत बताउनुभयो । सरकारले थुप्रै काम गरेको र मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाएको उहाँको भनाई छ । संकट र खतरायुक्त तुइनबाट मानव जीवनलाई मुक्ति दिनु, लोडसेडिङ मुक्त गर्नु तथा संघीयतालाई मजबुद गर्नु लगायतका मुख्यकाम सरकारले गरेको बताउनुभयो ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १८:२६