नेपालमा एकै दिन ५ हजार ८ जना कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा एकै दिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ८ जनालाई संक्रमण देखिएको हो । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौ‌ं उपत्यकामा २ हजार ६७२ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जनालाई कोरोना संक्रमण देखिएको छ।

थप १४ जनाको मृत्यु

नेपालमा एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१० वटा जिल्लाका २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै, ललितपुरमा ४३ र ४९, भक्तपुरमा ६८, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ र रुपन्देहीमा ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | २४ आश्विन २०७७, शनिबार १६:३५