भारतमा कोरोनाविरुद्धका दुई खोपले पाए प्रयोगका लागि अनुमति !

काठमाडौँ । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपले प्रयोगको अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले भारत बायोटेकले उत्पादन गरेको र आष्ट्रा जेनेकासँगको समन्वयमा उत्पादित सिरम इन्स्टिच्युटको खोपलाई प्रयोगको अनुमति दिएको हो ।
विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले जनाएको छ ।
कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए । सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाई थियो ।
खोपले कुनै हानि नगरे पनि केही सहायक असर भने गर्न सक्ने अधिकारीहरुले बताएका छन् । सामान्य ज्वरो आउने र अन्य खोप लगाउँदा झैं सामान्य दुखाइ लगायतका पीडा हुने उनीहरुको भनाइ छ । सेरमको खोपले जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पूरा गरेको पनि नियन्त्रकको कार्यालयले जनाएको छ । यो खोप २३ हजार ७४५ जनामा परीक्षण गर्दा प्रभावकारी नजिता दिएको देखिएको सेरमले दावी गरेको छ । परीक्षणमा १८ वर्ष वा सो सरहदेखि त्योभन्दा धेरै उमेरका मानिसहरु सहभागी भएका थिए ।
परीक्षण गर्दा सेरमको खोपले औसतमा ७०.४२ प्रतिशतसम्म काम गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण तेस्रो चरणसम्म भएको थियो ।


प्रकाशित | २० पुष २०७७, सोमबार ०८:४७