हरेक पटक मौका पाउँदा मैले आफूलाई प्रमाणित गर्नुपर्छ : सन्दिप लामिछाने

काठमाडौं: दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले हरेक पटक मौका पाउँदा आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने भावनाका साथ अगाडि बढिरहेको बताउनुभएको छ । लामिछानेले पत्रकार सम्मेलनमा बोल्दै हरेकचोटी मौका पाउनासाथ आफूलाई प्रमाणित गर्नुपर्ने भावनाका साथ अगाडि बढ्ने गरेको बताउनुभयो ।

‘म सधैं मेरो भूमिका पूरा गर्न चाहन्थें। हरेक पटक मौका पाउँदा मैले आफूलाई प्रमाणित गर्नुपर्छ,’ सन्दीपले पत्रकार सम्मेलनमा भन्नुभएको छ,‘कहिलेकाहिँ प्लेइङ ११ मा नपर्दा दुस्ख लाग्छ, तर टिममा राम्रा वैकल्पिक खेलाडी चाहिन्छन्। मेरो विचारमा टिम व्यवस्थापनसँग क्रिकेटको धेरै राम्रो ज्ञान छ। उनीहरूको आफ्नै योजना हुन्छन् र त्यसैले भिन्नभिन्न प्लेइङ ११ छान्छन्। मैले अझै सुधार गरिरहनु पर्छ।’

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पाँचौ खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले शनिबार उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । दिल्ली क्यापिटल्समा रहेका सन्दीपले पाँचौ खेल किङ्स इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा सन्दीपले पन्जाबविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै ३ विकेट लिन सफल हुनुभयो । सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिनुभएको थियो । सन्दीपले पन्जाबका आक्रामक ब्याट्सम्यान ग्रिस गेल, लोकेश राहुल र साम करणलाई आउट गरे । योसंगै सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् । सन्दीप अघिल्लो ३ खेलमा भने दिल्लीको टिममा रहेका थिएनन् ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १८:४५