नागरिकता विधेयकः बहुमतीय प्रक्रियाबाट विवाद टुङ्ग्याउने तयारी

काठमाडौं : एक वर्षदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका क्रममा विचाराधीन नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवाद बहुमतीय प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको छ ।

वैवाहिक अङ्गीकृत नागरिकता जारी गर्नेलगायतका विवादमा सहमति नभएपछि विधेयकका केही प्रावधानलाई प्रक्रियाबाट टुङ्गोमा पु¥याउने तयारी थालिएको हो । समितिको बिहीबारको बैठकमा सहमतिको अन्तिम प्रयास गर्ने र सोपछि पनि विवादमा सहमति नभएमा बहुमतीय प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको हो ।

विधेयक एक दुई दिनमै समितिबाट पारित गरेर चालू अधिवेशनमै प्रतिनिधि सभामा पेस गर्ने तयारीअनुसार विधेयकमा सहमति नभए बहुमतीय प्रक्रिया अपनाउन लागिएको हो । नागरिकता र सङ्घीय निजामती सेवा गठनसम्बन्धी दुवै विधेयक चालू अधिवेशनबाटै पारितको तयारी छ ।

समिति सभापति शशी श्रेष्ठले बुधबारको बैठकमा सदस्यहरूलाई विधेयकको टुङ्गो नलागेसम्म काठमाडौँ बाहिर नजान पनि आग्रह गर्नुभएको छ । दुई विधेयकलाई पछिल्ला दिनमा समितिले निरन्तर दफावार छलफल गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित | २६ भाद्र २०७६, बिहीबार ०७:२४