सन्तोषीले तोडिन कान्छीमाया कोजुले बनाएको कीर्तिमान !

दाङ :  एपीएफ क्लबकी सन्तोषी श्रेष्ठले कान्छीमाया कोजुले बनाएको कीर्तिमान तोडेकी छिन् । यस स्पर्धामा कान्छीमायाले सन् २०१० मा चीनको गोन्जाओमा १६ मिनेट ४९ दशमलब ९८ सकेन्डको कीर्तिमान बनाएकी थिईन । तर आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला ५ हजार मिटर दौडमा एपीएफ क्लबकी सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।  दाङको बेलझुन्डीमा आइतबार सन्तोषीले निर्धारित दुरी १६ मिनेट ३८ दशमलब ५३ सेकेन्डमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण जितिन् । सन्तोषीले कान्छीमाया कोजुले बनाएको कीर्तिमान भंग गरेकी हुन् ।

यस स्पर्धामा रजत जितेकी आर्मीकी बिश्व रुपा बुढाले निर्धारित दुरी १६ मिनेट ४६ दशमलब ०३ सेकेन्डमा पुरा गरिन् । निर्धारित दुरी १७ मिनेट ०३ दशमलब ७५ सेकेन्डमा पुरा गर्दै एपीएफकी बिन्द्रा धन्के श्रेष्ठले कास्य जितिन् । यस्तै ४ गुणा ४ सय मिटर रिले दौडको महिलामा आर्मीले राष्ट्रिय कीर्तिमान बनाएको छ ।  कृष्णा चौधरी , संगिता मेचे , सरस्वती भट्टराई र तुलसा खत्री रहेको आर्मीले निर्धारित दुरी ४ मिनेट ०२ दशमलब ४८ सेकेण्डमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेको हो ।

यसअघि सन् २०१६ मा भारतको गुवाहाटीमा भएको साग गेम्समा नेपालले ४ मिनेट ०८ दशमलब २० सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएको थियो । यस्तै यस स्पर्धामा रजत जितेको एपीएफले ४ मिनेट १३ दशमलब १४ सेकेण्डको समय निकालेको थियो । कास्य जितेको प्रदेश ५ ले निर्धारित दुरी ४ मिनेट १२ दशमलव ४९ सेकेन्डको समय निकाल्यो ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १७:४१