९ महिनापछि मुस्ताङका होटल खुले, अब मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई सहज

जोमसोम -विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड—१९०का कारण ९ महिनादेखि बन्द रहेका मुस्ताङका होटल खुलेका छन् । मुस्ताङ होटल व्यवसायी संघको विशेष पहलमा जिल्लाका होटल व्यवसायीको सहमतिपछि होटल खोल्ने निर्णय भएको हो । योसँगै अब मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।

यसअघि मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने बताएका थिए। एकसाता अघि म्याग्दीका होटल व्यवसायी संघ र अन्य पर्यटनसंग आवद्ध संघसंस्थाले दबाब सिर्जना गरेपछि मुस्ताङका होटल व्यवसायी होटल खोल्न तयार भएका हुन् । मुस्ताङ उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले पुस १३ गते मुस्ताङका होटल संञ्चालनमा आएको जानकारी दिए ।

कोरोना कहरका कारण मुस्ताङमा लिजमा होटल व्यवसाय संञ्चालन गर्ने व्यवसायी समस्यामा पर्दै आइरहेका थिए । गण्डकी प्रदेशका अधिकांश जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल संञ्चालनमा आए पनि हिमाली जिल्ला मुस्ताङमा कोरोना त्रासका कारण होटल खोल्न सकेको थिएन ।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सर्वसाधारण व्यक्तिलाई कुनै अवरोध नहुने जानकारी दिइन् ।स्थानीय प्रशाासन, मुक्तिनाथ विकास समिति र होटल व्यवसायीको सहमतिमा मुक्तिनाथ दर्शनका लागि मन्दिर खोल्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले उल्लेख गरिन् । अन्नपूर्ण दैनीकमा प्रकाशित समाचार ।


प्रकाशित | १६ पुष २०७७, बिहीबार ०७:४८