संसद् विघटनविरुद्ध काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने दाहाल-नेपाल समूहको दाबी

काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पुस १४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

बानेश्वरस्थित संसद् भवनमा बुधबार आयोजित संसदीय भेलामा नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ । वरिष्ठ नेता झलानाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा पचास हजार कार्यकर्ता उतारेर प्रदर्शनको तयारीमा रहेको बताए ।

आइतबार कोटेश्वर पेरिसडाँडामा बसेको यो समूहको सचिवालय बैठकले शक्ति प्रदर्शनको तयारीबारे पनि छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यो समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

आन्दोलन परिचालन कमिटीको संयोजकमा प्रवक्ता श्रेष्ठलाई तोकिएको छ । उनको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी बनाउने निर्णय पनि गरेको थियो । प्रदर्शनको तयारीका लागि विद्यार्थी, युवा, महिलालगायतका जनवर्गीय संगठनहरुका बैठक भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

यो समूहको केन्द्रीय कमिटी बैठकले देशभर आन्दोलन परिचालन र पार्टीका गतिविधि सक्रिय पार्न प्रदेश, जिल्ला र वडास्तरसम्मका भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । निर्णयअनुसार पुस ११ गते काठमाडौंमा सबै प्रदेशहरूको समन्वयात्मक बैठक भइसकेको नेताहरुले बताएका छन् । शनिबार भएका बैठकले १४ गतेको प्रदर्शनको तयारी र तल्लो निकायसम्म प्रधानमन्त्री ओलीको कदमबारे कार्यकर्तालाई प्रशिक्षित गर्नेलगायत रणनीति तय गरेको छ ।


प्रकाशित | १२ पुष २०७७, आईतवार १३:३८