बन्जीजम्प निर्माण गर्दै हेलम्बु गाउँपालिका: पाँच करोड ३९ लाख लागतमा झोलुङ्गे पुल निर्माण गरिदैं

दिनेश दुलाल/हेलम्बु (सिन्धुपाल्चोक)

सिन्धुपाल्चोकको महत्वपूर्ण गन्तव्य तथा पर्यटकीय क्षेत्र हेलम्बुमा बञ्जी निर्माण हुने भएको छ । यस अघि यशियाकै दोस्रो बन्जीजम्पको रुपमा ख्याति कमाएको नयाँपुलको बन्जीजम्पलाई उछिन्दै हेलम्बुमा बन्न लागेको हो । बञ्जीको लागि हालसम्मकै लामो झोलुंगे पुलको पूर्वाधार निर्माण कार्य शुरु गर्न लागिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेजन शेर्पाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागी बजेट नै छुट्याएर काम शुरुवात गरिने उहाँले बताउनुभयो । यो निर्माण संगै एसियाको टपवान बन्जी हेलम्बुमा हुने अध्यक्ष निमाको दावी छ ।

पाँच करोड ३९ लाख खर्च लाग्ने उक्त झोलुङ्गे पुल निर्माणको लागि डा. एनएल जोशी कन्सल्टेन्सीद्वारा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भईसकेको उहाँले जानकारी दिनुभयो । ूलो बजेट भएकाले निर्माणको लागि ‘सस्पेन्सन वृज डिभिजन’लाई आग्रह गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

डा. एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार पारिएको डिपीआर अनुसार झोलुङ्गे पुलको लम्बाइ ३७० मिटर लामो र बञ्जीको उचाई १७३ मिटर अग्लो हुनेछ । बन्न लागेको झोलुङ्गे पुल हालसम्मकै लामो हुने भएकाले प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको गाउँपालिकाको इञ्जिीनियर शेरबहादुर राईले बताए । उनका उक्त पुल मुलककै सबैभन्दा लामो पुल हुनेछ ।

अध्यक्ष निमाका अनुसार गाउँपालिकाको वडा नम्बर १ अन्र्तगत हेलम्बुको ङिमादावा पाङगाङमा बनाइने झोलुङ्गे पुल पाङगाङ र धवागाङ दुई वटा गाउँलाई जोड्नेछ । उक्त पुल बनेपछि एक गाउँबाट अर्को गाउँ पुग्न लाग्ने ५ घण्टा समयसमेत केही मिनेटमा छोटिने अध्यक्ष निमाको दावी छ । हेलम्बुमा बञ्जी तयार भएपछि अझ बढी पर्यटक आउने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सकिने अध्यक्ष शेर्पा बताउनुभयो ।

स्मरण रहोस हेलम्बु गाउँपालिकाले सन २०२० को पर्यटन वर्षलाई लक्षित गर्दै पर्यटकीय क्षेत्रको विकासको लागि पूर्वाधार निर्माण गरिरहेको छ । यसको लागि गाउँपालिकाले ह्योल्मो संस्कृति झल्कने बस्ती निर्माण गरिसकेको छ भने पर्यटकीय पैदल मार्ग, होमस्टे निर्माण र सडक सञ्जाल लगाएत पूर्वाधार निर्माण थालनी गरिसकेको छ ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार १६:५७