सूर्य छापप्रति लोभि नजर नलगाउन प्रचण्ड–नेपाल समुहलाई महेश बस्नेतको चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले पक्षले पार्टी कार्यालय बल्खु र धुम्बाराहीमा आँखा नलाउन चेतावनी दिनु भएको छ । शनिबार ललितपुर क्षेत्र नं. १ मा भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिनु भएको हो ।
उहाँले भ्रष्टाचारी तथा अपराधीले अख्तियार, प्रहरी प्रमुख, सेना प्रमुख आफ्नो मान्छे तथा प्रधानमन्त्री, राष्ट्रपति आफुललाई चाहिन्छ भनि सडक आन्दोलन गरिरहेको आक्रोस व्यक्त गर्नुभयो । आफ्नो कालो कर्तुतलाई लुकाउन र आफ्ना आसेपासेलाई भरणपोषण गर्नको लागि राजकीय तथा शासकीय पदहरु नाजायज रुपमा माग गरी सडक आन्दोलन गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

युवा संघले भ्रष्टाचारी, राष्ट्रघातीलाई रातभर सुत्न नदिने उद्घोष गर्दै उहाँले काम नगरी माम मात्र खोज्दे भन्दै आन्दोलन गरिरहेको उल्लेख गर्नुभयो । सडक आन्दोलनमा रहेका केही नेताको ४÷५ घण्टाको अन्तरालमा राजकीय र शासकीय स्वार्थ बोक्नेहरुको सपना तुहिएको उल्लेख गर्दै उहाँले प्रचण्ड, नेपाल, खनाललगायतले आत्मघाती काम गरेको बताउनुभयो ।
प्रचण्डले समर्थन गरेको सिद्धान्त नै जनताको जनवाद भएको उल्लेख गर्दै नेता बस्नेतले जबजबाट नै जनताको जनवाद प्रतिपादन गरिएको बताउनुभयो । गौतमबुद्ध जत्तिकै उचाई भएको नेता केपी ओली रहेको औंल्याउँदै नेता बस्नेतले वर्तमान समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै आजलाई हैन–भोलीलाई, १० वर्ष केपी ओलीलाई भन्ने युवाहरुको माग रहेको बताउनुभयो ।

केपी ओलीले अब निर्वाचन पछि प्रधानमन्त्री तथा महाधिवेशन पछि अध्यक्ष नबन्ने हैन अबको १० वर्ष नेतृत्व गर्नुपर्ने जनताको माग रहेको औंल्याउँदै भ्रष्ट तथा राष्ट्रघातीलाई सत्ता हस्तान्तरण नगरी प्रधानमन्त्री ओलीलाई न्यायधिसको रुपमा मानी निर्वाचनको घोषणा गर्नुभएको बताउनुभयो ।
नेता बस्नेतले भन्नुभयो, ‘प्रचण्ड हिजो भित्ते राष्ट्रपति बन्नुभयो, आज सडक छाप हुनुभएको छ । अब सडकमा गएर सडकको राष्ट्रपति प्रधानमन्त्री तथा अध्यक्ष बन्नुहुन्छ ।’
पूर्वएमालेको सम्पत्तीको रुपमा तथा नेपाली जनताको मनमुटुमा रहनुसफल भएको सूर्य चिन्हमा प्रचण्ड गुटले आँखा लगाउनुको कुनै अर्थ नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सूर्य छापप्रति लोभि नजर नलगाउनुस् । सूर्य चिन्हतिर आँखा नलगाउनुस, युवाले सूर्य चिन्हप्रति चम्काएको आँखा मन पराएका छैनन् । हिम्मत भए हसिया हथौडा भएको चिन्ह लिनुस्, अनि प्रचण्डको लोकप्रियता मापन गरौं । माओवादीको हसिया र हथौडालाई आत्मसात् गरेर जनताको मन जित्ने हिम्मत छ ? बल्खु कार्यालयलाई लोभी नजर नलगाउनुस्, आफ्नो स्थानमा जानुस् ।’
हत्या, हिंसा, बलात्कारीलाई मृत्यु दण्ड तथा कारवाही गर्नुहुँदैन भन्ने नारायणकाजी श्रेष्ठले अहिले सडकमा चर्का कुरा गर्नुको अर्थ नरहेको उल्लेख गर्दै नेता बस्नेतले भन्नुभयो, ‘जनताको आक्रोस, डाका त काकासँग गएछन् भन्ने रहेको छ । अब जनताले राँटा लगाएर पाखा लगाउने दिन आयो । लोकतन्त्रवादीले किन निर्वाचनमा जान डराउनुपर्ने ?’
रामचन्द्र पौडेल र बाबुराम भट्टराईसँग काँध जोडेर प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव ल्याएकोमा आक्रोस व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई बम पड्काएर ध्वस्त पार्ने कुचेष्ठा नगरे हुन्छ त्यसलाई युवाले रोक्नेछन् ।’

विगतमा संसद विघटनको मुख्य नेतृत्व गर्ने माधव कुमार नेपालले अहिले आएर सडकमा गई आफै विरोध गर्नुलाई नेकपाका कार्यकर्ता तथा नेपाली जनताले इतिहासलाई निर्ममताका साथ समिक्षा गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘सडकमा हात्ती नहिँडेकाले कुकुर धेरै हिड्न थालेका छन् । धर्म, राजालगायतका कुराहरुमा सकडमा भुक्दै नहिड्नुस् । युवाले अब चुप लागेर बस्नेतवाला छैनन् । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधनिताको रक्षाको निम्ती युवाहरु विना वर्दिको प्रहरी हुन तयार छन् । युवाले कानुनलाई हातमा लिएर नभई साथमा लिएर अगाडी बढ्नेछन् ।’


प्रकाशित | ११ पुष २०७७, शनिबार १६:३९