नेकपाका दुवै पक्षले बोलाए आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक

काठमाडौँ । नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।

ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन एसएमएस पठाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ । प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।

विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षले संकलन गरेको सांसदहरुको हस्ताक्षरलाई आधार मान्ने हो भने संसदीय दलमा ओली अल्पमतमा छन् ।

प्रचण्ड–नेपाल पक्षले करिब ९० सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए । यद्यपि ओली पक्षले त्यो हस्ताक्षर संकलन गत असारमै अर्कै प्रयोजनका लागि गरिएको दाबी गर्दै आएको छ ।


प्रकाशित | ६ पुष २०७७, सोमबार ०९:२५