एनआरएनएमा मिल्लान त दुई उपाध्यक्ष ? नमिल्दा कस्तो मोड लेला ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आगामी नवौ महाधिवेशन नजिकिंदै गएपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विशेष गरि वर्तमान अध्यक्ष भवन भट्टले नेतृत्व सर्वसम्मतको लागि ढोका खुल्ला गरेपछि विश्वभरीका एनआरएनमा चुनावी सरगर्मी ह्वात्तै बढेको हो । बुधबार मात्र अध्यक्ष भट्टले नेतृत्वको लागि दुई उपाध्यक्षलाई मिलेर नयाँ नेतृत्व चयन गर्न बाटो खुल्ला गरिएपछि अब आगामी एनआरएनएको नेतृत्व वृत्तमा उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यको चर्चा चुलिएको छ । हिजो मात्र सामाजीक सञ्जालमार्फत सम्बोधन गर्दै अध्यक्ष भट्टले नयाँ प्रतिस्पर्धीको लागि पन्त र आचार्यलाई अगाडि बढ्न भन्दै विशेष सन्देश प्रवाह गर्नुभएको थियो । के भवन भट्टले नेतृत्वको लागि बाटो खुल्ला गरेसँगै दुई उपाध्यक्ष मिल्लान त ? भन्ने प्रश्न यतिखेर निकै तेजिलो बन्दै गएको देखिन्छ ।

विश्व सन्देशलाई प्राप्त सूचनाअनुसार हालका वरिष्ठ उपाध्यक्ष पन्त र आचार्यबीच मिल्ने विषयमा कुनै कशरत वा पहल भएको छैन । पन्त स्वभावैले अध्यक्षको उम्मेदवार हुनुहुन्छ । किनकी दुई कार्यकाल उपाध्यक्षको नेतृत्व पन्तले गरिसक्नु भएको छ । उता आचार्यको एक कार्यकाल भए पनि पुन: उपाध्यक्षमा दोहोर्याउने अर्थात सहजै पन्तलाई छाड्ने पक्षमा देखिनुभएको छैन । विश्व सन्देशसँग कुराकानी गर्दै उपाध्यक्ष आचार्याले भन्नुभयो, ‘खुल्ला प्रतिस्पर्धामा आउने विषयमा कुनै दुविधा छैन, अबको प्रतिस्पर्धा पन्त जी सँगै हुने भयो, । नेतृत्वको लागि निकै अगाडि बढिसकेको छु ।’ त्यसो त अमेरिका र अष्टेलियाको सम्पन्न एनसिसीको निर्वाचनमा पूरै प्रजातान्त्रिक पक्षधरको आएको र त्यसमा पूरै समर्थन हुने भन्दै आचार्यलाई नेतृत्वको लागि अगाडि बढ्न थप हौसल्ला मिलेको बताइन्छ । यथपी पन्त भने अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य सबैको समर्थनमा आगामी नेतृत्व सर्वसम्मत हुने विश्वास ब्यक्त गर्नुहुन्छ ।

अध्यक्ष भट्टले दुई उपाध्यक्षलाई सर्वसम्मत नेतृत्व चयनको लागि बाटो खुल्ला गरिदिदा पनि नमिलेमा अर्थात पन्त र आचार्यबीच चुनावी प्रतिस्पर्धी भएमा भने के हुन्छ ? भन्ने विषय अहिले निकै चासो छ । तर वास्तावीकता के हो भने दुई उपाध्यक्ष मिल्न नसकेको अवस्थामा अर्थात सर्वसम्मतको प्रयास असफल भएमा अध्यक्ष भट्टको ‘यात्रुको सिटबाट चालकको सिट’मा भन्ने भाव चरितार्थ हुने एनआरएनका अभियन्ताको भित्री बुझाई छ ।


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार २१:५६