अमेरिकाबासी गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न अध्यक्ष पन्तको आह्वान

टेक्सस । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अमेरिकाबासी गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले आयोजना गरेको लगानीसम्बन्धी कार्यक्रममा अध्यक्ष पन्तले नेपालमा लगानीको वातावरण बनेको भन्दै अमेरिकाबासी नेपाली समुदायलाई लगानीको लागि आह्रवान गर्नुभएको हो ।

मातृभूमिको सम्मृद्धि र विकासमा गैर आवासीय नेपालीको हैसियतमा योगदान गर्न सकिएकोमा आनन्दको अनुभूति हुने गरेको बताउनुहुँदै अध्यक्ष पन्तले नेपालमा लगानी गरेर ठूलो रोजगारी सिर्जना हुने र मुनाफा पनि धेरै हुने बताउनुभयो ।

अध्यक्ष पन्तले नेपालमा गैर आवासीय नेपालीले लगानी गर्दा भावनात्मक लगानी पनि हुने हुंदा अरु विदेशीले लगानी गरेभन्दा फरक हुने पनि बतानुभयो ।

गैर आवासीय नेपालीको सामुहिक लगानी उपयुक्त ठाउंमा हुन सके राम्रो मुनाफा हुने भन्दै अमेरिकामा भएका नेपाली समुदायलाई एनआरएनएको इमर्जिङ्ग नेपाल फण्डमार्फत नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । एनएरएनए आईसीसीको यो प्रोजेक्ट न्यूनतम १० अर्व रुपैंयाको हुने जानकारी दिनुभयो ।

उहाँले शुरुमा डेढ अर्व रकम गैर आवासीय नेपालीले उठाउनु पर्ने र त्यसमा नेपाल सरकारले ५० करोड रकम लगानी गर्ने बताउनुभयोे । यति रकमले शुरु गरेपछि थप रकमलाई आइपीओ खोलेर अघि बढ्ने गरी योजना बनाइएको पनि जानकारी गरानुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार एसी शेर्पाले नेपालमा लगानीको लागि सुरक्षाको प्रत्याभूती हुनेपर्नेमा जोड दिनुभयो ।

No description available.

एनआरएनए आईसीसीका क्षेत्रीय संयोजक राजन त्रिपाठीले सामुहिक लगानीका माध्यमबाट नेपालको विकासमा योगदान गर्ने उदेश्यले एनआरएनए आईसीसीले सिग्नेचर प्रोजेक्टका रुपमा इमर्जिङ्ग नेपाल फण्ड प्रोजेक्ट अघि सारेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रोजेक्टका प्रमुख डा. अनलराज भट्टराईले प्रजोक्टका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो ।

No description available.


प्रकाशित | ६ पुष २०७७, सोमबार ०९:०४