जर्मन बुन्डेस लिगा फुटबल : ब्रेमेनलाई हराउँदै वायर्न उपाधितर्फ

एजेन्सी : जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले वेर्डर ब्रेमेनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा वायर्नलाई जित दिलाउन निकलस सुलेले निर्णायक गोल गरे ।१० खेलाडीमा सिमित ब्रेमेनविरुद्ध ७५ औं मिनेटमा सुलेले निर्णायक गोल गरेका थिए ।

खेलको ५८ औं मिनेटमा मिलोस भेल्जकोभिकले रातो कार्ड पाएपछि ब्रेमेन १० खेलाडीमा समेटिएको थियो ।  जितसंगै वायर्नले लिगमा आफ्नो अग्रता ४ अंकको बनाएको छ । र, उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शीर्ष स्थानको वायर्नले ३० खेलबाट ७० अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ६६ अंक छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार ०९:०३