पिएसजीको सानदार सुरुवात

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र ब्राजिली फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ ।

पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित नयाँ सिजनमा सुखद् सुरुवात गरेको हो । गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको नवौं मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गर्दै गोलको खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

पिएसजी यतिमै रोकिएन । दोस्रो हाफको दुवै गोल मेस्सीको नाममा रह्यो । ८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेस्सीले गोल गरेपछि पिएसनी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८६औं मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौैं गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए । ग्रोइन इन्ज्युरीका कारण यस खेलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे टोलीमा थिएनन् ।

बलियो पिएसजीविरुद्ध क्लेरमन्ट फुटले काउन्टर अट्याकमा रणनीति बुनेपनि सफल हुन सकेन । यो जितसँगै पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन । मोनाको र लियोनले पनि विजयी सुरुवात गरेका छन् ।


प्रकाशित | २२ श्रावण २०७९, आईतवार ०८:३६