दोलखा : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताउँदै भन्नुभयो, ‘पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनौं ।’

नेकपा दोलखा जिल्ला कमिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिनुहुन्न भन्ने विश्वास छ ।’

भीमेश्वर रङ्गशाला निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्ने प्रतिवद्धता
त्यस्तै, मन्त्री गुरुङले आजै भीमेश्वर नगरपालिकाकै गौरवको आयोजनाका रुपमा रहेको भीमेश्वर रङ्गशाला शिलान्यास गर्नुभएको छ । भीमेश्वर रङ्गशालाको एक कार्यक्रमका बिच मन्त्री गुरुङले दोलखा र आसपासकै गौरवको आयोजना भीमेश्वर रङ्गशाला निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरपालिकाले प्रत्यक वर्ष ४ करोड रुपैयाँ विनियोजन गर्दै आयोजना पहिलो चरणमा निर्माण सुरु गरेको जानकारी दिनुभयो । रङ्गशाला निर्माण गर्न बजेट अभाव रहेकाले सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको थियो ।

आरसीसी प्याराफिट सहितको भीमेश्वर रङ्गशाला पहिलो चरणमा कर बाहेक ११ करोड १५ लाख ७७ हजार ४ सय ५२ रुपैयाँमा किरातेश्वर÷सिमपानी जे।भी।ले निर्माण गरिरहेको छ । २०७७ साउन २५ गतेबाट निर्माण सुरुभएकोमा पहिलो चरणको काम २४ महिनामा निर्माण सक्ने लक्ष्य लिइएको छ ।
प्रकाशित | ४ पुष २०७७, शनिबार १४:१५