चल्मलाउँदै गण्डकीको पर्यटन, खुल्दै घोडेपानीका होटल

बेनी । राउण्ड अन्नपुर्ण पदमार्गमा पर्ने म्याग्दीको प्रख्यात पर्यटकीय स्थल घोडेपानी तथा पुलहिल क्षेत्रका होटलहरु आउने पुस १ गते बाट खुल्ने भएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको उक्त स्थानमा आगामी बुधबार अर्थात् पुस १ गते बाट खोल्नका लागि आवश्यक तयारी स्थानीय व्यवसायीले थालेका छन् । गत चैतदेखि बन्द रहेका व्यवसाय पुनः चलायमान हुने संकेत देखिएको छ ।

गाउँपालिकाले निर्णय गरेको नभै स्थानीय व्यवसायीले आफ्नो व्यवसाय चौपट भएकोले सहज तरिकाले राज्यले तोकेको स्वास्थ्य मापदण्डको पालना गरेर खोल्ने सहमती गरेको घोडेपानीका पर्यटन व्यवसायी एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनले बताउनुभयो ।

अध्यक्ष डमबहादुरका अनुसार कास्कीको नयाँपुलबाट शुरु हुने पदमार्ग घान्द्रुक हुँदै घोडेपानी निस्कने भएकोले त्यस क्षेत्रका व्यवसाय पनि नखोलेसम्म सहज नहुने भएको भए पनि घोडेपानीको खुल्दा अब घान्द्रुक तिरका व्यवसाय पनि खुल्न सक्छ ।

म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल मध्येको घोरेपानीका होटलहरु कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि गत चैत ११ गते देखि अर्थात् ९ महिनादेखि बन्द थिए । चैतदेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा ब्यवसायी जुटेका छन् ।

परिवार भित्रकै सदस्यहरुले सञ्चालन गरेका होटल तथा रेष्टुरेन्टहरु करिब तयारी अवस्थामा रहेको र कामदार राखेर सञ्चालन भएका व्यवसायीका समेत मजदुरहरु समेत होटलमा फर्किन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गर्ने निर्णय पर्यटन ब्यवसायीले गरेका छन् ।

नेपाल सरकारले तोकेको नियम अनुसार सबै मापदण्डको पालना गरि होटल व्यवसाय सञ्चालनको तयारी गरेको जानकारी प्राप्त भएको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले बताउनुभयो । सुवेदी भन्नुहुन्छ व्यवसायीहरुले राज्यले तोकेको स्वाथ्य मापदण्डलाई कडाइका साथ पालना गरी व्यवसाय सञ्चालनको तयारी गरेको जानकारी आएको छ ।
यस भन्दा अघी कोरोनाको महामारी नसकिएको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले पर्यटकमार्फत कोरोना भित्रन सक्ने कारण देखाउँदै गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा आवतजावतमा रोक लगाएको थियो ।

लामो दूरीका सवारीसाधन, आन्तरिक तथा बाह्य हवाइ उडानमा यात्रुको चहलपहल हुन थालेपछि पर्यटन ब्यवसायपनि चलायमान हुन अपेक्षा गरिएको छ । समुन्दी सतहदेखि तीन हजार २१० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका साथै मगर जातीको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपंक्षी, वनस्पति यहाँको प्रमुख आर्कषण मानिन्छन् । फागुन चैत महिनामा लालिगुराँसका बिभिन्न प्रजातिहरु फुलेर ढकमक्क हुने हुँदा पर्यटकको मन लोभीने गर्दछ ।

घोडेपानीले खोल्ने निर्णय गरेको राम्रो पक्ष हो तर यहाँका व्यवसायीहरुले फागुनबाट मात्र खोल्ने भनेर यस भन्दा पहिला निर्णय गरेकोले अहिले अर्कोनिर्णय नभए सम्म केही भन्न नसकिने एक्सलेन्ट भ्यू टप लज घान्द्रुकका सञ्चालक मिकेस गुरुङले बताउनुभयो ।

हाँ भन्नुहुन्छ –‘सिजन सकिन लाग्यो चिसो बढ्दै छ अनि हिउँ पर्ने समय पनि शुरु भएकोले अहिले पर्यटकको आमन कम हुने समय पनि हो, फागुनबाट फुल फेजमा खुल्ने भए पनि अब घोडेपानीले खोलेको कारणले गर्दा यता पनि सामान्य रुपमा पनि खोल्दा ठिक हुनसक्छ ।’ गोरखापत्र दैनीकमा यो समाचार प्रकाशित छ ।


प्रकाशित | ३० मंसिर २०७७, मंगलवार ०८:२३