राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी

काठमाडौँ -राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ ।

वुधवारको गोरखापत्र दैनिकका अनुसार,निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट लेभीका रूपमा लिइएको रुपियाँ आम्दानी शीर्षकमा राखिएको हुनसक्ने दाबी गरेको छ ।

नेकपा (एमाले) ले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आय अन्तर्गत राजनीतिक नियुक्ति शीर्षकमा २५ लाख रुपियाँ देखाएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भन्नुभयो, “राजनीतिक नियुक्तिका नाममा दलले पैसा लिन पाउन्न, सो दलले बुझाएको प्रतिवेदन हेर्न पाएको छैन, हेरेर थप स्पष्ट होला ।”

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दुई ठुला दल नेपाली कांग्रेसको सात लाख ५० हजार र नेकपा (एमाले) को करिब आठ लाख सदस्य छन् । नेकपा (एमाले) को नियमावली, २०५७ को चौथो संशोधन, २०७८ अनुसार पार्टीको सदस्यता शुल्क वार्षिक १८० रुपियाँ छ । नेकपा (एमाले) का करिब आठ लाख क्रियाशिल सदस्य छन् ।

दुई किसिमका सदस्य रहने नेपाली कांग्रेसले नयाँ क्रियाशिल सदस्य बन्न तीन सय रुपियाँ र नवीकरण गर्न वार्षिक दुई सय रुपियाँ शुल्क राखेको छ । राजनीतिक दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनबमोजिम अधिकांश राजनीतिक दल चन्दा, कार्यकर्ताको आर्थिक सहयोग, सदस्यता तथा सदस्यता नवीकरण एवं लेभीबाट सङ्कलित आम्दानीबाट सञ्चालन भएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ठुला दलको आम्दानीको मुख्य स्रोत लेभी रहे पनि चन्दा र आर्थिक सहयोग उल्लेख्य छन् ।

नेपाली कांग्रेसले भने व्यक्तिगत चन्दा थोरै पाएको छ । उसले सो शीर्षकमा चार लाख ७७ हजार आम्दानी जनाएको छ तर आर्थिक सहयोग शीर्षकमा सो दलले छ करोड ६८ लाख २४ हजार प्राप्त भएको उल्लेख गरेको छ । १४ औँ महाधिवेशनमा चन्दा तथा प्रवेश शुल्कबाट कांग्रेसले छ करोड ६३ लाख ४७ हजार आम्दानी गरेको छ । १७ वटा बैङ्कमा खाता रहेको संसद्को ठुलो दल कांग्रेसले सदस्यताबाट सात लाख ५० हजार र आवधिक लेभीबाट दुई करोड ५८ लाख ८३ हजार छ सय प्राप्त गरेको छ । कांग्रेसको आम्दानीको ठुलो हिस्सा क्रियाशिल
सदस्यता शुल्क छ, जसबाट उसले छ करोड ९२ लाख १४ हजार ६२१ रुपियाँ आर्जन गरेको छ ।

सांसदबाट उसलाई दुई करोड आठ लाख ९१ हजार १०८ रुपियाँ प्राप्त भएको छ । अन्य लेभी शीर्षकमा नेकपा (एमाले) ले नौ करोड ६१ हजार ८२५ रुपियाँ उठाएको छ । कार्यकर्ताले सो दललाई एक करोड ७२ लाख २० हजार ६३७ रुपियाँ सहयोग गरेका छन् । १९ वटा बैङ्कमा खाता रहेको सो दलले बैङ्क ब्याजबाट ५० लाख ४१ हजार ७३६ रुपियाँ पाएको छ ।

२०७८ भदौ १ गते दर्ता भएको नेकपा (एकीकृत समाजवादी) ले लेखा परीक्षण बुझाउनुअघिको दस महिनामै व्यक्तिगत र संस्थागत गरी पाँच करोड २५ लाख ७८ हजार ३४७ रुपियाँ आम्दानी गरेको छ । व्यक्तिगत आर्थिक सहयोगतर्फ २५ हजार रुपियाँभन्दा बढीको सहयोग शीर्षकबाट सो दलको दुई करोड २८ लाख रुपियाँ आम्दानी छ ।

नेकपा ९एस० लाई तनहुँका के। श्रेष्ठले एक करोड र नेपालगञ्जका एस। बुढाले ५० लाख आर्थिक सहयोग गर्नुभएको छ । व्यक्तिगत चन्दाबाट सो दलले तीन करोड ९५ लाख ६२ हजार ५०० रुपियाँ र संस्थागत चन्दाबाट एक करोड ३० लाख १५ हजार ८४७ रुपियाँ प्राप्त गरेको छ । सदस्यता, लेभी र नवीकरण शीर्षकमा नेकपा ९एस० ले एक करोड ७८ लाख ३५ हजार ८२५ रुपियाँ आम्दानी गरेको छ ।

संसद्को तेस्रो ठुलो दल नेकपा (माओवादी केन्द्र) ले सदस्यताबाट एक करोड ८६ लाख ५० हजार रुपियाँ आम्दानी गरेको छ । आवधिक लेभीबाट सो दललाई छ करोड ६५ लाख १३ हजार २१४ रुपियाँ प्राप्त भएको छ । जम्मा आम्दानी करिब नौ करोड रहेको सो दलले बैङ्क ब्याजबाट सात लाख ८६ हजार आर्जन गरेको छ । प्रकाशन बिक्रीबाट नेकपा (माओवादी केन्द्र) ले ४१ लाख ३६ हजार चार सय रुपियाँ आम्दानी गरेको छ ।


प्रकाशित | २७ बैशाख २०८०, बुधबार ०७:५९