जुम्लाको सार्कीवाडामा आगलागी हुँदा ४ बालबालिकाको ज्यान गयो

जुम्ला : जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ । तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाको जलेर ज्यान गएको हो ।

आगलागीमा परि १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्कीको ज्यान गएको जनाइएको छ । प्रहरीका अनुसार मानसिंह नेपाली र उहाँकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली आगलागीका कारण बेहोस भएका र उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

आगलागीले तीनतले घरको दुई तला पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।


प्रकाशित | १० बैशाख २०७९, शनिबार ०८:३४