नेकपा सचिवालय बैठक : दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल शुरु, बैठक भोलि पनि बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को सचिवालय बैठक सकारात्मक ढंगले अगाडि बढेको छ । बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको प्रस्तावमाथि औपचारिक छलफल शूरु गर्दै सौहादपूर्ण रुपमा अगाडि बढेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल शुरू भएको बताउँदै बैठक भोलि दिउँसो एक बजे फेरि बस्ने गरि सम्पन्न भएको जानकारी गराउनुभयो ।

प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा पेश गर्नुभएको थियो । दुवै अध्यक्षको प्रस्तावसँगै पार्टी विभाजनसम्मको स्थितिमा पुगेको बताएपनि स्थिति परिवर्तन भएको नेताहरुले बताएका छन् ।

पार्टीमा दुवै अध्यक्षको सहमती र समझदारी बन्ने वातावरणको सृजना हुनु सकारात्मक र पार्टीलाई अझ बलियो बनाउन सहयोग पुग्ने बैठकमा सहभागि एक वरिष्ठ नेताले जानकारी गराउनुभयो ।


प्रकाशित | १६ मंसिर २०७७, मंगलवार १७:५७