मेलम्चीको पानी दुई महिनापछि सुन्दरीजलमा

काठमाडौँ : अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पथान्तरणको काम सुरु गरेपछि दुई महिनामा सुन्दरीजलमा पानी आउने पक्का भएको हो ।

समितिका अनुसार आइतबार बिहान ९ बजेबाट सुरुङमा पानी पथान्तरणको काम सुरु भएको छ । हाललाई निर्माणाधीन हेडवक्र्सभन्दा सय मिटरमाथि अस्थायी ड्याम बनाएर डाइभर्सनमार्फत सुरुङमा पानी पठाइएको छ । पानी पथान्तरण गरी सुरुङ परीक्षणका लागि दुई महिना लाग्ने र त्यसपछि सुन्दरीजलमा निरन्तर पानी आउने खानेपानी मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सो अवसरमा खानेपानी मन्त्री बीना मगरले दुई महिनापछि उद्घाटनको मिति तय गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “मेलम्चीसँगको लामो समयको प्रतीक्षा, निराशा र प्रश्नहरूको अन्त्य भएको छ, प्राविधिक रूपमा निक्कै कठिन काम सम्पन्न भएका छन्, बाधा अवरोध चिरेर निरन्तरको प्रयासले हामी सफल भएका हौँ । अब सरकार र नेतृत्वसँग छलफल गरेर उद्घाटनको मिति छिट्टै तोक्छौँ ।”

मन्त्रालयका सचिव माधव बेल्बासेले मेलम्ची खानेपानीको सुरुङ एसियाकै लामोमध्ये पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखिको चुनौतीपूर्ण कार्य सम्पन्न भएको छ अब पानी पथान्तरणमा वा सुरुङको परीक्षणमा प्राविधिक प्रणाली फ्लो गर्नुपर्ने हुन्छ, विज्ञसहितको टोलीले तीन तहको परीक्षण गर्ने छ त्यसपछि सुन्दरीजलमा पानी आउने छ ।” मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले भन्नुभयो, “सामान्य अवस्थामा सुरुङ परीक्षणको अवधि दुई महिना लाग्नेछ, त्यसपछि नियमित रूपमा पानी आउने छ, आयोजना नयाँ चरणमा प्रवेश गरेको छ ।”

२०२९ सालदेखिको प्रतीक्षा

काडमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई भरपर्दो र नियमित खानेपानी उपलब्ध गराउन २०२९ सालदेखि नै सम्भाव्य स्रोतहरूको खोजी तथा अध्ययन सुरु भएको थियो । समितिका अनुसार उपत्यकामा खानेपानीको दीर्घकालीन समाधानका लागि २०४१ सालमा भएको अध्ययनले मेलम्चीलगायत विभिन्न २२ वटा विकल्पको पहिचान गरेको थियो । २०४९ सालको थप अध्ययनबाट आर्थिक र प्राविधिक रूपमा मेलम्ची, याङ्ग्री र लार्के खोलाको पानी सुरुङमार्फत काठमाडौँ ल्याउन उपयुक्त हुने निष्कर्ष निकालिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

आयोजनाको विस्तृत डिजाइन भएसँगै २०६६ सालमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ निर्माण गर्न चाइना रेल्वे–१५ ब्युरोलाई ठेक्का गरिएको थियो । ब्युरोले सन्तोषजनक काम गर्न नसकेपछि २०७७ मा ठेक्का रद्द गरिएको थियो । इटलीको निर्माण व्यवसायी को–अपरेटिभ मुराटोरी डिरेभेन्नाले सुरुङको ब्रेकथ्रु गरेको थियो तर सो कम्पनीले २०७५ पुस १ गतेदेखि एकतर्फी रूपमा काम छाडेपछि ठेक्का रद्द गरिएको थियो । त्यसपछि समितिले सुरुङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्न द्रुत प्रक्रिया अपनाइ सिनो हाइड्रो कर्पोरेसन चाइनासँग २०७६ असोज १२ गते सम्झौता गरेको थियो ।
सोही कम्पनीसँग नै हेडवक्र्स निर्माण गर्न १५ महिनाको समयावधि राखेर अर्को सम्झौता २०७६ असोज २४ गते भएको थियो । हाल सिनो हाइड्रोले काम गरिरहेको छ ।

पुस मसान्तसम्म सबै काम पूरा

मेलम्ची खानोपानी आयोजना विकास समितिले हाललाई अस्थायी डाइभर्सनबाट पानी ल्याउने काम भए पनि पुस मसान्तसम्म निर्माणका सबै काम सम्पन्न हुने बताएको छ । आयोजना प्रमुख तिरेश खत्रीले भन्नुभयो, हेडवक्र्स निर्माणको ठेक्का अवधि पुस मसान्तसम्म छ तर कामका हिसाबले छिटो सकिन्छ, ७० प्रतिशत काम सम्पन्न भएको छ ।   आजको गोरखापत्र दैनीकमा यो खवर छ ।


प्रकाशित | २२ असार २०७७, सोमबार ०७:५४