शिवपुरीमा पालिकास्तरीय अस्पतालको शिलन्यास

नुवाकोट (शिवपुरी) – शिवपुरी गाउँपालिकाको वडा नं. ५ स्थित महाकाली स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी अस्पताल निर्माण गरिने भएको छ । सोमवार गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले उक्त पालिका स्तरीय अस्पतालको भवनको शिलन्यास गर्नुभयो ।

सोमवार सरकारले पालिका स्तरीय अस्पताल नभएका ३९६ वटा पालिकामा एकै दिन भवन निर्माणका लागि शिलन्यास गर्ने योजना अनुसार शिवपुरी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष थापाले अस्पताल भवनको शिलन्यास गर्नुभएको हो ।

भवनको शिलन्यास गर्दै अध्यक्ष थापाले अस्पताल निर्माण भएपछि स्थानीयलाई स्वास्थ्य सुविधा सहज हुनुका साथै ससाना रोग लाग्दा काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

उहाँले पालिका स्तरीय अस्पताल निर्र्माण कार्यलाई शिवपुरी गाउँपालिकाले उच्च प्राथमिकता दिएर निर्माण कार्य अगाडि बढाउनेमा जोड दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाले सरकारको नीति अनुसार नागारिकलाई नजिकबाटै स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्नका लागि पालिका स्तरीय अस्पताल निर्माण गर्न लागेको बताउनुभयो ।

सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी गाउँपालिकाका ८ वटै वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, स्थानीय नागरिक लागयतकाको सहभागिता रहेको थियो । गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुनेछ ।

अस्पताल निर्माणका लागि सङ्घीय सरकारले प्रदान गरेको बजेटलाई गाउँपालिका आफैंले थप गरी गाउँपालिका स्तरीय अस्पताल निर्माण गर्न लागिएको हो ।


प्रकाशित | १५ मंसिर २०७७, सोमबार २०:३७