मनोवेग (कविता )

-भुवन शिवाकोटी “चौघरे”

रातमा बिउँझिए पछि
जब तिमी बार्दलीमा उभिएर
ढकमक तारा हेर्थ्यौ
तारा गनेर भन्थ्यौ
आहा ! कति सुन्दर आकाश

टुटेको तारा खसेको देखेपछि
तिम्रा अनगिन्ति रहरहरू
साक्षि राखेर भन्थ्यौ
आहा ! हेर त तारा झर्यो
अब हाम्रा रहरहरू पुरा हुन्छन्

एउटा अन्धबिश्वासले
कति धेरै खुसी दिन्थ्यो तिमीलाई
मैले
तिम्रा खुसीहरू भाँच्न चाहिन
कहिल्यै पनि बिथोल्न खोजिन
तर
त्यही बार्दलीमा उभिएर
जिन्दगीले थुप्रै हण्डर खाएर
तिमी माझिएपछि
आज भन्दैछु
आफै चुँडिएर झर्ने फूलले
के खुसी दिन्छ ?
आफै भाँचिएको हाँगो
कहाँ नुग्न सक्छ ?
प्रिय !
त्यो रात
आकाशबाट खसेको तारा पनि त्यस्तै थियो
पलभरलाई
तिम्रा आँखामा उज्यालो देखाएर
आफै बिलाएको

जसरी असिनाहरू बिलाउछन
जसरी शीत बिलाउँछ
हो त्यसरी नै
झर्नेहरूको अस्तित्व मेटिन्छ
फर्कने
केबल आशामात्र हो ।


प्रकाशित | १३ मंसिर २०७७, शनिबार ०९:१९