बालबालिकाका लागि भिटामिन ए, अल्बेण्डाजोल र बालभिटा

रामकुमार धमला


नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए, जुका विरुद्धको औषधि अल्बेण्डाजोल र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अर्धवार्षिक रुपमा सञ्चालन हुने यो कार्यक्रम चालु आर्थिक वर्षको प्रथम चरणको रुपमा यही २०७७ मंसिर ११ र १२ गतेका दिन देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुबाट निःशुल्क वितरण गरिँदै छ।

भिटामिन ए वितरण कार्यक्रम अन्तर्गत भिटामिन ए क्याप्सुल, जुका विरुद्धको औषधि अल्बेण्डाजोल ट्याबलेट र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) समेतले रोग प्रतिरक्षा शक्ति बढाउने र श्वासप्रश्वास सम्बन्धी रोगलाई रोकथाम गर्न पनि सहयोग पुर्‍याउँछ।

राष्ट्रिय अभियान अन्तर्गत ६ महिनादेखि १२ महिना उमेर समूहलाई आधा क्याप्सुल (१ लख आइयु) र १२ महिनादेखि ५ वर्षसम्मलाई एक क्याप्सुल ( २ लाख आइयु) भिटामिन ए वितरण गरिन्छ। त्यस्तै, १२ महिनादेखि २ वर्षसम्म आधा ट्याबलेट ( २०० एमजी) र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहलाई एक ट्याबलेट (४०० एमजी) जुका विरुद्धको औषधि अल्बेण्डाजोल वितरण गरिन्छ। त्यसैगरी ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) पनि वितरण गरिन्छ। यद्यपि यस्ता औषधि वा पोषक तत्वहरु बालबालिकालाई खुवाउँदा बालबालिकामा दीर्घरोग, खुवाउन नमिल्ने अवस्था वा अन्य स्वास्थ्य समस्या आदिको मूल्यांकन गरेर तालिमप्राप्त स्वास्थ्य सेवाप्रदायकको सल्लाह लिनुपर्छ। 

भिटामिन ‘ए’ को महत्व
मानव शरीरको वृद्धिविकास र स्वस्थ रहनको लागि आवश्यक पर्ने रासायनिक यौगिक नै भिटामिन हो। यिनीहरु कम मात्रामा आवश्यक भए पनि शरीरलाई स्वास्थ्य राख्न र रोगबाट बच्न भिटामिन अनिवार्य आवश्यक पर्छ। भिटामिनहरु मुख्यतयाः पानीमा घुल्ने जस्तैः भिटामिन बी तथा सी र  चिल्लो पदार्थमा घुल्ने जस्तैः भिटामिन ए, डी, ई, र के पर्दछन्।

भिटामिन ए भएका तत्वहरुको सेवनले समग्र रुपमा स्वस्थ रहन र दीर्घरोग विरुद्ध उत्कृष्ट मानिन्छ। दैनिक आहारमा भिटामिन एको उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यस्तै, राति नदेख्ने रतन्धो रोगबाट जोगाउँछ। आँखा तेजिलो बनाउँछ। इतिमात्र होइन, भिटामिन एले छाला, श्वासप्रश्वास तथा प्रजनन स्वास्थ्य सम्बन्धी रोग समेत लाग्न दिँदैन। 

भिटामिन एको कमीले बालबालिकाको वृद्धिविकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्छ। यसको कमीले रतन्धो रोग लाग्छ। त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घरोगहरु देखा पर्छ।

विशेषगरी बाल स्वास्थ्य सम्बन्धी रोग र अन्य क्लिनिकल समस्याको उपचारमा भिटामिन एको प्रयोग गरिन्छ। जस्तैः रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण, श्वासप्रश्वास रोग र छालाको रोग आदिमा भिटामिन एको प्रयोग गरिन्छ।

बालबालिकाको ५ वर्ष उमेर भित्रमा मानसिक र शारीरिक विकास तीव्र रुपमा हुने भएकोले पोषणको कमी हुन नदिन भिटामिनयुक्त स्थानीय खानाहरु खुवाउन आवश्यक हुन्छ। भिटामिन एको महत्वपूर्ण स्रोतहरुमा गाँजर, पालुङ्गो, रायो लगायत हरियो सागसब्जी, पहेँला फलफूलहरु, माछा, घ्यु, अन्डाको पहेँलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदि पर्दछन्।

जुका विरुद्धको औषधि अल्बेण्डाजोल
अल्बेण्डाजोलले टेपवर्म (जुका) र हाइडाटिड डिजिजहरुलाई रोकथाम तथा निको पार्छ। जुकाको कारण शरीरमा रक्तअल्पता, भिटामिन तथा खनिज पदार्थको कमी, कलेजो, फोक्सो, मस्तिष्क, आँखा जस्ता शरीरका प्रमुख अंगहरुमा असर र शारीरिक तथा मानसिक विकासमा असर गर्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विकासोन्मुख मुलुकमा करिब १० प्रतिशत मानिसमा फोहोर पानी र सरसफाइको कमीको कारण इन्टेसटाइनलवर्म हुने गरेको पाइएको छ। 

के हो बालभिटा
बहु–सूक्ष्मपोषक तत्वहरुको मिश्रण नै बालभिटा हो। बालभिटा विभिन्न १५ प्रकारका भिटामिन तथा खनिज तत्वहरुको मिश्रण गरी तयार गरिएको हुन्छ। भिटामिन ए (भिटामिन ए एसिटेट), भिटामिन बी१ (थाइमिनमोनोनाइटे«ट), भिटामिन बी२ (राइबोफ्लाभिन), भिटामिन बी६ (पाइरिडोक्सिन), भिटामिन बी१२ (सायानोकोबालामिन), भिटामिन सी (एस्कर्विक एसिड), भटामिन डी३ (कोलेक्यालसिफेरोल), भिटामिन ई ( भिटामिन ई एसिटेट), फोलिक एसिड, नियासिन (नियासिनामाइड), कपर (क्युप्रिकग्लुकोनेट), आयोडिन (पोटासियम आयोडाइड), आइरन (फेरस फ्युमारेट), जिंक (जिंकग्लुकोनेट) र सेलेनियम (सोडियम सेलेनाइट) जस्ता सूक्ष्म भिटामिन तथा खनिज तत्वहरु बालभिटामा पाइन्छ।

बालभिटा सानो पुरियामा पाइन्छ। बालभिटा खानामा मिसाएर खुवाइन्छ। ६ महिना पूरा भएदेखि २ वर्ष मुनिका बालबालिकालाई खुवाइन्छ तर आपतकालीन अवस्थामा ५९ महिनासम्मका बालबालिकालाई दिइन्छ।

पोषक तत्वको मिश्रण (बालभिटा) घरमा तयार परिएका खानामा (जाउलो, लिटो, मिचिएको दालभात) सजिलैसँग मिसाएर खुवाउन सकिन्छ। बालभिटा मिसाएको खानाको स्वाद, गन्ध तथा रङमा कुनै परिवर्तन आउँदैन। दिमागको विकास, शरीरको वृद्धिविकास, रोगसँग लड्ने क्षमताको विकास, खाना खाने रुचिमा वृद्धि, रक्तअल्पता तथा अन्य सूक्ष्मपोषक तत्वहरुको कमीले हुने विकृति/कुपोषणहरुबाट जोगाउन र  बालबालिकालाई चनाखो र दरिलो बनाउन बालभिटाले सहयोग पुर्‍याउँछ। यो बजारमा किन्न पाइँदैन। सरकारी स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिन्छ।  स्रोत – स्वास्थ्य खवर

(धमला इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख हुन्।)


प्रकाशित | १० मंसिर २०७७, बुधबार ११:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!