एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण ब्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा भाग लिन निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गर्नुभयो । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ, नेपालकाले पनि हिम्मत गरे हुन्छ, एमसीसीको बिडिङमा सफल भए सबैभन्दा पहिला हामी खुसी हुन्छौं,’ उहाँले भन्नुभयो, ‘अमेरिकन कानूनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन्, चीनका होस्, भारतको होउन् वा नेपालकै हुन सक्छन् ।’

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताउनुभयो । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्याहरूको नीतिगत, कानूनी र प्रक्रियागत रूपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरूको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रकाशित | २७ फाल्गुन २०७८, शुक्रबार १४:१८