सिटीलाई हराउँदै टोटेनहम शीर्ष स्थानमा

एजेन्सी । टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो ।

टोटेनहमका प्रशिक्षक जोसे मौरिन्होले सिटी प्रशिक्षक पेप ग्वार्डीओलामाथि कठिन जित निकालेका हुन् ।

सिटीले बल पोजिसन र गोलको धेरै अवसर सिर्जना गरेपनि टोटेनहमले खेलमा बाजी मार्यो । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक एक गोल गरे ।

टोटेनहमले लिगमा लगातार चार खेलमा जित निकालेको हो । खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै जियोवानी लो सेलोले घरेलु टोलीका लागि दोस्रो गोल गरेका थिए ।

दुवै टोलीका पहिलो हाफमा गरिएका गोललाई रेफ्रीले अफसाईड दिएका थिए । ह्यारी केनले अफ साईड विट गर्दै गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । ग्याब्रियल जिससले डिबक्स भित्रबाट गरेको गोललाई रेफ्रीले ह्यान्ड बल भनिदिए ।

टोटेनहमले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनहमले २० अंक जोडेको छ । पराजित सिटी तालिकाको १० औं स्थानमा छ ।

शनिबारनै भएको अघिल्लो खेलमा न्युक्यासललाई हराउँदै चेल्सी केही घण्टा लिगको शीर्ष स्थानमा उक्लिएको थियो । लेस्टरलाई आईतबार राति एनफिल्डमा लिभरपुलविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा उक्लिने मौका रहेको छ ।

अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई २-१ ले हराएको छ ।


प्रकाशित | ७ मंसिर २०७७, आईतवार ०७:३४