उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन भने त्यस्तो वहकावमा नलाग्न आग्रह गर्छु: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) समूहदेखि राप्रपासम्मलाई आन्दोलनको पछि नलागी देश बनाउन जुट्न अपिल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ऐतिहासिक जितगढीमा आज आयोजित विजयोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै अहिलेको युग विकास र सम्मृद्धिको भए भन्दै देश बनाउन जुट्न अपिल गर्नुभएको हो ।

राप्रपाले धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको भन्दै धर्मको नाममा राजनीति नगर्न आग्रहसमे गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन, संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु ।’उहाँले मुलुकले सुशासन र विकासको बाटो समातीसकेकाले जनतालाई भ्रममा पार्ने का नगर्न र अलमलाउने काम नगर्न आग्रह गर्नुभएको हो ।

बिकासले गति लिएकोले अब अल्मलिन नसकिने भन्दै भन्नुभयो, ‘बिकासले गति लिएको छ, अब उटपट्याङ कुरामा अल्मलिन सकिन्न ।’ उहाँले नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको प्रष्ट पार्दै ‘समृद्ध नेपाल स् सुखी नेपाली’ को नारा त्यत्तिकै अघि नसारिएको प्रष्ट पार्नुभयो । ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनु पर्यो भन्न थालेका छन तर, कोही भ्रममा पर्नेवाला छैनन,’ भ्रम छर्दै हिडेका ज्योतिषीलाई सचेत गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १८:२६