नेपाल समूह विजेता बन्दै टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।  ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । क्यानडा र फिलिपिन्स बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग भोलि मंगलबार खेल्नेछ। यस्तै ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ । फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अविजित ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले अविजित रहदै २७ रन बनाए ।

आशिफ शेख १७ तथा कुशल मल्ल सुन्य रनमा आउट भए ।  क्यानडाका कलिम साना र सलमान नाजरले एक एक विकेट लिए ।  यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा अलआउट हुदै ८० रन बनाएको थियो ।

क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे ।  कप्तान नभनित धलिवालले १८ रन जोडे । रयान पठानले १४ रनको योगदान गरे ।

नेपालका कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।  अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे । कुशल मल्लले एक विकेट लिए ।


प्रकाशित | ९ फाल्गुन २०७८, सोमबार १८:४४