प्रत्येक विषयलाई पद र प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिलाई विषयान्तर गर्न खोजीयो : गौतम

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन कानूनी बाटो खुल्ला भएसँगै सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमविरुद्ध परेको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उपाध्यक्ष गौतमले सामाजीक सञ्जालमार्फत सबैमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।

गौतमले भन्नुभएको छ, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।’

गौतमले राष्ट्रियसभा सदस्य पदमा आफनो मनोनयन र शपथ लगत्तै आफूलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको पनि जानकारी गराउनुभएको छ ।

गौतमले भन्नुभएको छ, ‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।’


प्रकाशित | २६ कार्तिक २०७७, बुधबार १८:१७