यूएईमा आजदेखि कार्यान्वयनमा आयो नयाँ श्रम कानुन, श्रमीकहरु लाभान्वित हुने

काठमाण्डौ – यूएई सरकारले आज अर्थात् फेब्रुअरी २ देखि नयाँ श्रम कानुन कार्यान्वयनमा ल्याएको छ । नयाँ श्रम कानुनले श्रमिकको बिदादेखि करार, कागजात जफत लगायतको बारेमा पहिलेको श्रम कानुनमा परिवर्तन गर्दै नयाँ व्यवस्था गरेको छ ।

खबर गल्फ न्युजले जनाए अनुसार यूएई सरकारले पुरानो श्रम कानुनमा व्यापक परिवर्तन गर्दै ल्याएको नयाँ श्रम कानुनले श्रमिकको हित हुनेछ । यूएईको पुरानो श्रम कानुन अनुसार श्रमिकको लिमिटेड र अनलिमिटेड गरी दुई प्रकारको करार सम्झौता थियो । तर नयाँ श्रम कानुनले लिमिटेड करार मात्र तोकेको छ ।

यसअघिको श्रम कानुन अनुसार पासपोर्ट लगायत आधिकारिक कागजात रोजगारदाताले जफत गरेर राख्ने गरेको पाइन्थ्यो । तर नयाँ श्रम कानुन अनुसार रोजगारदाताले श्रमिकको आधिकारिक कागजात जफत गरेर राख्न पाउँदैनन् र पासपोर्ट पनि राख्न पाउँदैनन् ।

यस्तै, नयाँ श्रम कानुन अनुसार महिला कामदारले ४५ दिनको तलबी सुत्केरी बिदा पाउँछन् भने उनीहरूले चाहेमा थप १५ दिन लम्ब्याउन पनि सक्छन् । तर त्यो १५ दिनको भने आधा मात्र तलब पाइने व्यवस्था गरिएको छ । श्रमिकको परिवारको सदस्यको मृत्यु भएमा ५ दिन र आफन्तको मृत्यु भएमा ३ तीन दिन तलबी बिदा पाउने व्यवस्था छ ।

पहिले ६ महिनाको परीक्षणकालिन समयमा रोजगारदाताले चाहेमा श्रमिकलाई कुनै जानकारी बिना नै कामबाट निकाल्न सक्थें । तर अहिले ल्याएको नयाँ श्रम कानुनले श्रमिकलाई कामबाट निकाल्नुभन्दा कम्तीमा १४ दिनको जानकारी दिनपर्छ । अहिले श्रमिकले काम परिवर्तन गर्न चाहेमा रोजगारदातालाई एक महिनाको समय र देश नै छोड्न चाहेमा १४ दिनको पूर्व जानकारी दिनपर्छ ।

यूएईको नयाँ श्रम कानुनले श्रमिकले एक वर्षभन्दा बढी र पाँच वर्षभन्दा कम काम गरेको छ भने कम्पनीले २१ दिन बराबरको न्यूनतम तलब वार्षिक रूपमा हिसाब हुने गरी उपदान दिन पर्ने व्यवस्था गरेको छ । रोजगारदाता परिवर्तन गर्नेको हकमा नयाँ रोजगारदाताले भिसा र भर्ना प्रक्रियाको लागि पुरानो रोजगारदातासँग आवश्यक समन्वय गर्नपर्नेछ ।

कम्पनीलाई पूर्व जानकारी दिएर देश छाडेमा त्यसको तीन महिनाभित्रमा अर्को नयाँ कामका लागि यूएई जान पाइने छ । तर यदि जानकारी नदिई देश छाडेको खण्डमा श्रमिकलाई यूएई प्रवेशमा एक वर्षसम्म प्रतिबन्ध लगाउनका लागि रोजगारदाताले यूएईको श्रम विभागसँग अनुरोध गर्न सक्नेछन् ।


प्रकाशित | १९ माघ २०७८, बुधबार २०:४४