सरकारी अस्पतालमा कोभिड उपचार नि:शुल्क, मन्त्रीको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय

काठमाडौं – सरकारले सरकारी अस्पतालमा कोभिड उपचार निशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार राती बसेको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावअनुरूप कोरोनाको परीक्षणसहित सम्पूर्ण उपचार सरकारले निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले विपन्न, ज्येष्ठ नागरिकलगायत निश्चित वर्गको मात्रै निःशुल्क उपचार गर्ने बाँकीको नगर्ने निर्णय गरेको थियो । तर त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएपछि सरकार निशुल्क गर्न बाध्य बनेको हो ।

त्यस्तै, मन्त्रिपरिषद्का सबै सदस्यको यो वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ । साथै सरकारले मुलुकमा जतिसक्दो चाँडो खोप आयातको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।

खोप आयातको प्रक्रिया तत्काल सुरु गर्न आवश्यक बजेटलगायत विषयलाई सहजीकरण गर्न सरकारले अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव सम्मिलित एक कार्यदलसमेत गठन गरेको छ । खोप आयातका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले व्यवस्था गर्ने निर्णयसमेत भएको छ ।


प्रकाशित | २५ कार्तिक २०७७, मंगलवार ०७:२२