कोपनहेगनमा सामान्य बन्दै जनजीवन, अधिकांश नेपाली पनि काममा फर्किए

कोपनहेगन (डेनमार्क ):  डेनमार्कमा लकडाउन खुलेसँगै जनजीवन सामान्य बन्दै गएको छ । डेनमार्कमा लामो समयदेखि जारी लकडाउन यही १८ तारिखमा खुलेको हो । लकडाउन खुलेको एक साता बित्दा जनजीवन विस्तारै सामान्यतर्फ उन्मूख बन्दै गएको छ ।

निश्चित नियम तोकेर अत्यन्तै सुरक्षा सावधानीका साथ लकडाउन खोलीएको डेनमार्कमा हरेक ठाउँमा २ मिटरको सामाजीक दूरी कायम गर्नुपर्छ भने माक्स अनीवार्य रुपमा लगाउनुपर्छ ।

यहाँ सरकारी कार्यालयदेखि सबै किसिमका कार्यालयहरु सञ्चालनमा आइसकेका छन् । साथै सबै किसिमका सार्वजनीक सवारी साधनहरु सञ्चालन भइसकेका छन् । सार्वजनीक सवारी प्रयोग गर्दा सरकारले तोकेको निश्चित नियम अनीवार्य रुपमा पालना गर्नुपर्छ । यहाँ सामाजीक दूरी सँगै सम्बन्धीत यातायातमै सूचना जारी गरिएको छ । यात्रुहरुले डाईभरको नजिक जान नमिल्ने गरि स्पेश तोकिएको छ भने सामाजीक दूरीलाई निकै कडाईका साथ लागू गरिएको छ ।

बालबच्चाको स्कुल खुले पनि विश्वविद्यालय भने सञ्चालनमा आएको छैन । सर्भिस सेन्टर, होटल खुलेका छन भने फन्ड पार्क, रेष्टुरेन्ट खुलेका छैनन । विस्तारै विभिन्न ठाउँमा भिडभाड बढ्दै गएको देखिन्छ । अन्तर्राष्ट्रिय उडानहरु ठप्प छन । आगामी ८ तारिखदेखि भने सबै किसिमका सेवाहरु सञ्चालनमा ल्याउने सरकारले तयारी गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्कका अध्यक्ष रविन्द्र खडकाका अनुसार लकडाउन खुलेसँगै अधिकांश नेपाली पनि काममा फर्किसकेका छन् । डेनमार्कमा ६ हजारभन्दा बढी नेपालीको बसोबास छ भने करिव ४ सय नेपाली विद्यार्थी छन् । अध्यक्ष खडकाले जनजीवन विस्तारै सामान्यतर्फ उन्मूख भइरहेको बताउनुभयो ।

अध्यक्ष खडकाले लकडाउन खुले पनि नेपाली समुदायलाई अझै सुरक्षा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । ‘अझै केहि समय सावधानी अपनाउन आवश्यक छ’, खडकाले भन्नुभयो, ‘लकडाउन खुल्यो भनेर ढुक्क नहुन र सरकारी नियमको पूर्ण पालना गदै आवश्यक सावधानी अपनाउन आग्रह गर्न चाहान्छु ।’

साथै कुनै समस्या भए सम्पर्क गरिदिनु हुन पनि अध्यक्ष खडकाले आग्रह गर्नुभएको छ । लकडाउन अवधिमा एनआरएनए डेनमार्कले समस्यामा परेका सर्यौ विद्यार्थीलाई राहत वितरण गरेको थियो ।


प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार १०:३४