अफगानिस्तानलाई हराउँदै ईङ्ल्याण्ड आईसीसी विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लियो

एजेन्सी:  अफगानिस्तानलाई हराउँदै ईङ्ल्याण्ड आईसीसी विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा घरेलु टोली ईङ्ल्याण्डले अफगास्तिानविरुद्व १ सय ५० रनको फराकिलो जित निकालेको हो । ३ सय ९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो ।

मशमतुल्ला शाहिदीले ७६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । रहमत साह ४६, असगर अफघान ४४ रन र कप्तान गुलबदीन नायब ३७ रन बनाएर आउट भए । अफगानिस्तानलाई दबाबमा राख्दै ईङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले समान ३-३ विकेट लिए । मार्क उडले २ विकेट हात पारे ।

यसअघि म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको फराकिलो स्कोर बनायो । इंग्ल्याण्डले बनाएको यो स्कोर जारी विश्वकपकै सर्वाधिक ठुलो स्कोर हो ।

इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेको मोर्गनले ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले । जसमा उनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो ।

यस्तै जोय रुट र जोनी बेरस्टोले अर्धशतक बनाए । रुटले ८८ रन बनाउँदा बेरस्टो ९० रन जोडे । मोइन अली ३१ रनमा अविजित रहदा जेम्स भिन्सले २६ रन बनायो । अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले ३/३ विकेट लिए ।

ईङ्ल्याण्डले ५ खेलबाट ४ मा जित र एकमा हार सहित ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ । अंक विहिन अफगानिस्तान तालिकाको पुछारमा छ ।


प्रकाशित | ४ असार २०७६, बुधबार ०७:३३