गण्डकीमा मंगलबार थपीएका १८ जना कोरोना संक्रमित भारतबाट आएको पुष्टि

पोखरा : गण्डकी प्रदेशमा मंगलबार बिहान पाँच जिल्लामा थपिएका १८ जना नयाँ कोरोना संक्रमित सबै भारतबाट आएको पाइएको छ । गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ पुष्टी हुने संक्रमितमा गोरखाका १० जना, स्याङ्जाका चार जना, नवलपरासीका दुई जना, कास्कीका एक जना र बागलुङका एक जना रहेका छन् । यो सहित गण्डकीमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २२३ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षका पुरुष, ३१ वर्षका महिला र बारवापक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९, १८ वर्षका पुरुष, नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १९ वर्षका पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमण पुष्टी भएका १८ जना सबै भारतबाट आई सिधै स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु रहेको र नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउने काम भएको शर्माले बताउनुभयो ।


प्रकाशित | २ असार २०७७, मंगलवार १३:०३