विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार शूरु, म्यानमारबाट आइपुगे २६ नेपाली

काठमाडौ : म्यानमारमा रहेका २६ जना नेपाली नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै उनीहरुलाई होल्डिङ सेन्टरमा लगीदैंछ ।

विमानस्थलमा नेपाली सेनाका गाडीहरुले उनीहरुलाई उद्धार गरि होल्डिङ सेन्टर तर्फ लगिन लागिएको हो । गाडीहरु प्रदेश अनुसार अलग अलग व्यवस्था गरिएको छ ।

म्यानमारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश–१ का एक जना छन्। म्यानमारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो । त्यस जहाजले बर्मेली नागरिक लिएर जानेछ।

सरकारले विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिसकेको छ । विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको तयार गरिएको हो ।

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिने छ । काठमाडौँ र भक्तपुरमा एक, एक हजार क्षमताका छन भने ललितपुरमा ९०० क्षमताका छन् ।

सरकारले काठमाडौँको यति पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार गरेको हो । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेका छन् । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने गरि तयार गरिएको छ ।


प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार ११:५२