धर्म,धर्म निरपेक्षता र राज्य सम्बन्ध

राजु सप्तडी बस्नेत

“धर्म ” सब्दलाई विभिन्न अर्थहरुबाट हेर्न सकिन्छ। यसको कुनै एउटै शाश्वत र सर्वस्वीकार्य अर्थ हाल सम्म त बनेको छैन।त्यसैगरी भविष्यमा पनि यसको सर्वस्वीकार्य परिभाषा बन्न सक्ने कुरामा कुनै निश्चितता छैन।सान्सारिक अभ्यासमा रहेर प्रस्फुटन भएका धर्मसंग सम्बन्धित विचारहरुलाई संकलन गरेर हेर्दा केही दृष्टिकोणहरु निम्नानुसार देखाउन सकिन्छ।

(ख)कर्तब्य दृष्टिकोण :- धर्मको कर्तव्य दृष्टिकोणमा चेतनाले भुमिका खेलेको हुन्छ।यसले आफ्नो चेतनाको उपयोग गर्दै आफ्नो कर्तव्यको सही परिपालन गर्नु नै धर्म भन्ने मान्दछ।जस्तो राजधर्म,मित्रधर्म,पतिधर्म,पत्नीधर्म,आदि।एउटा राजनितीज्ञको धर्म भनेको समाज र देश प्रति गर्नु पर्ने कर्तव्य हो।वैयक्तिक देखि समाजले सम्म चेतनायुक्त ढङ्गले गर्नु पर्ने सबै कर्तव्यहरुको सकरात्मक चेष्टा नै धर्म हो।यसमा धैर्य,अनुशासन,क्षमा,आत्मानियन्त्रण,स्वास्थ्य,शिक्षा,न्याय, सत्यमार्गी आदि कुरालाई कर्तव्य दृष्टिकोणमा धर्मको रुपमा लिन सकिन्छ।
महात्मा गान्धीले भनेका छन “धर्म विहिन राजनीति मृत देह जस्तै हो” ।यहाँ धर्मलाई कर्तव्यसंग जोड्न खोजिएको हो ,राजनीतिक धर्म के हो ?त्यो हरेक राजनीतिज्ञले आफ्नो धर्म ठानेर गर्नु पर्छ भन्न खोजिएको हो।यसको अर्थ यो हैन की राजनीति कुनै धर्म विशेषको हुनुपर्छ। यसरी मानविय रुपमा आफ्नो कर्तव्य प्रति प्रतिबद्ध हुनु नै धर्म हो।

(क):-स्वभावगत दृष्टिकोण :- यस दृष्टिकोणबाट हेर्दा कुनै वस्तु या पदार्थको मौलिक चरित्र नै धर्म हो।यसलाई अझ प्रष्ट पार्दा चेतनाको उपस्थिति विना कुनै पदार्थले प्रकट गर्ने स्वभावलाई नै धर्म भनिन्छ। जस्तो आगोले पोल्छ,पोल्नु आगोको धर्म हो।त्यस्तै पृथ्वीले सूर्यको परिक्रमा गर्छ,पृथ्वीमा हुने ऋतहरुको परिवर्तन आदि सबै वस्तुगत पदार्थिय स्वभावहरु हुन।यसरी कुनै पनि वस्तुको अति सुक्ष्म तत्वदेखि अवलोकनिय ब्रम्हाण्ड भन्दा विशाल पद्दतिको एकल,सामूहिक या समिकरणीय स्वभाव नै धर्म हो।

(ग)साम्प्रदायिक दृष्टिकोण:-धर्मको यस दृष्टिकोणले कुनै निश्चित सम्प्रदायको कुनै निश्चित नामबाट गरीने परम्परा,रितिरिवाज,भेषभुषा ,चाडपर्व आदिको समग्र सामाजिक अभ्यासलाई धर्म भनिन्छ।यसमा ईस्वर,भगवान,प्रभु ,अल्लाह जस्ता अलौकिक प्रावधानहरुको पनि व्यवस्था गरिएको छ साथै स्वर्ग र नर्कको पनि उल्लेख गरेको पाइन्छ ।जस्तो हिन्दू,मुस्लिम,ईसाई,यहुदी आदि केही सामाजिक अभ्यासमा रहेका साम्प्रदायिक धर्मका नामहरु हुन।

(घ)साधना पद्दति दृष्टिकोण:-यस दृष्टिकोणबाट प्रार्थना,भक्ती,ज्ञान मार्ग र साधनाबाट आफ्नो अस्तित्वको अलौकिक परमतत्वसंग या मुल उर्जाको स्रोतसंग मिल्नु या पुग्नु लाई धर्म भनिन्छ। यो स्वयंमा निकै एकात्मक किसिमको छ तर यो एकात्मकता भित्र विभिन्न अवयवहरुको सहभागिता रहन्छ ।यसले आत्मीक आँखाबाट जिव जगत र स्वयंलाई विष्लेषण र सश्लेशण गर्दछ।ध्यान, योग ,साधनाबाट खुशी, सन्तुष्टी र परमानन्दको मार्ग प्रसस्त गर्न अपनाउने धारणाको समग्र ढाँचालाई नै धर्म भनिन्छ।

धर्म निरपेक्षता :

धर्म निरपेक्षताको प्रसंग उत्थान गर्दा स्वभाव र कर्तव्यलाई छोडेर बाँकी दुई साधना र साम्प्रदायिक दृष्टिकोणलाई मात्र लिइनु उचित हुन्छ। यी नै दुई दृष्टिकोणलाई राज्यबाट अलग्याएर सम्बैधानिक रुपमा राज्य धर्मबाट तटस्थ रहनु पर्छ भन्ने मान्यता नै धर्म निरपेक्षता हो।धर्म निरपेक्षताको पृष्ठ भुमी खोज्दा युरोप तिरै पुग्नुपर्ने हुन्छ। पाँचौ सताब्दी देखि चौधौं सताब्दी सम्मको समयलाई अन्धकारको युग (Age of dark)भनिन्छ। यो समयमा राज्य र समाजमा चर्चको अत्याधिक हावि थियो।नागरिकहरु चर्चको अन्धविश्वास,रुढीवादी र ज्यादतीबाट निकै पिडीत थिए।यस समयमा मानिसहरुमा अलौकिकवाद र मिथ्यावादले छोपेर सत्यको उज्यालोबाट कोशौं दुर रहेकोले यस युगलाई अन्धकारको युग भनिएको हो।चौधौं सताब्दी बाट पुनर्जागरण को समय सुरु भयो।मानिसहरु ग्रिकका महान विचारक अरस्तु लगायत विभिन्न चिन्तकहरुको चिन्तन को खोजी र प्रचार गर्न लागे।साथै धर्ममा सुधार र प्रबोधन गर्न पनि लागिसकेका थिए।विस्तारै विज्ञान तथा प्रविधिको क्रान्ति हुदै गयो।यसले धर्म द्वारा समाजमा प्रतिपादित थुप्रै कुराहरू गलत सावित गर्दै गयो।साथै औधोगिक क्रान्तिले पनि समाज रूपान्तरणमा निकै ठुलो भुमिका खेल्यो।यसरी हेर्दा चौधौं देखि उन्नाइसौं सताब्दी सम्मको समयमा युरोपले यस धर्मको जन्जिरबाट बाहिर आउने कोसिस निरन्तर गरिरह्यो। यस विचमा विभिन्न वैज्ञानिकहरुको शोध अनुसन्धान र सिद्धान्तले पनि समाजलाई अघि बड्न मद्दत गर्यो।यसमा सोर्हौ सताब्दीमा कोपरनिकसले सुर्य लगायत ब्रह्माण्डले पृथ्वीलाई घुम्छ ,अर्थात् पृथ्वी केन्द्रमा छ भन्ने धार्मिक मान्यताबाट(geocentrism) पृथ्वीले सुर्यलाई घुम्छ (heliocentrism) भन्ने मान्यतालाई अघि सारे।यस कुराले उनि तत्कालीन समाजको जटिल सिकार पनि हुनुपर्यो। फेरि सत्रौं सताब्दीमा ग्यालिलियोको दुरविन को आविष्कारले थप पुष्टि भयो ।यधपि उनले पनि त्यसबेलाको सामाजिक र धार्मिक प्रहार खेप्नु पर्यो। यसै सताब्दीमा न्युटनको गुरुत्वाकर्षण सिद्धान्तले धार्मिक कुप्रथाहरुलाई न्युनिकरण गर्न आधुनिक समाज निर्माणमा थप सहयोग गर्यो। साथै विज्ञानलाई सामाजिकीकरण गरि प्रगतिशिल विचार फस्टाउनमा वातावरण दिने काम गर्यो। अठारौँ सताब्दीमा आइपुग्दा डेबिड हुम र कान्ट का विचार र सिद्धान्तले समाजलाई धार्मिक रुढीवादीबाट स्वतन्त्रता दिलाउन थप मद्दत पुग्यो। उन्नाइसौं सताब्दीमा आएको डार्बिनको विकासवादी सिद्धान्तले त झन धर्मका कयौं झुटहरुलाई उदांगो पारिदियो। यसै सताब्दीमा आएका कार्लमाक्स्रले धर्मको जरो नै हल्लाइ दिए।अर्का विचारक Jones Austinको संसदिय कानुन जस्तो सिद्धान्त अघि सारेर समाजिक रूपान्तरणमा ठुलो फट्को मारे।सन १८५१ मा ईङ्गलैण्डका जांर्ज जैकब होलियोकले secularism सब्दको विधिवत प्रयोग गरेका थिए। धर्म निरपेक्षता धारणाको विकास क्रममा वर्तमान सम्म आइपुग्दा यसलाई दार्शनिक र प्रयोगात्मक गरि दुई तरिकाले हेर्न सकिन्छ।

१] दार्शनिक धारणा:-धर्म निरपेक्षताको दार्शनिक विचार धारणामा मुख्य चार वटा विशेषताहरु रहेका छन।ती विशेषताहरु यस प्रकार निम्न छन।

अ):-धर्म प्रति तटस्थता :-धर्म निरपेक्षताको मुख्य विशेषता भनेको धर्म प्रति तटस्थ रहनु हो।यसमा प्रायः के देखिन्छ भने एक थरी हुन्छन जो धर्मको आँखा चिम्लिएर समर्थन गर्ने,अर्को हुन्छन,धर्म र धर्म मान्नेहरु प्रति कटाक्ष गर्ने विरोध गर्ने।यी दुवै कुरा एउटा धर्म निरपेक्ष राज्यमा हुनु हुदैन। राज्य धर्म प्रति तटस्थ रहनु पर्छ र संग संगै व्यक्ति र समाजमा यसको सभ्य र वैधानिक प्रभाव हुनुपर्छ। भलै व्यक्ति तथा समुदाय धर्म प्रति सापेक्ष रहन सक्छ ।वैयक्तिक रुपमा पनि धर्मको विरोध गर्नु भन्दा आलोचनात्मक दृष्टिकोण राख्नु उत्पादनशील हुन्छ। समर्थन या विरोध मात्र गर्दा समय, उर्जा र चेतना सबै बर्बाद हुन्छ।

आ):-लौकिकवादः– धर्म निरपेक्षताले अलौकिक कुराहरुको समर्थन गर्दैन।यसले स्वर्ग ,नर्क ,पूनर्जन्म जस्ता जगत पारीका अर्थात् तथ्यहीन कुराहरुको वकालत गर्दैन।यसले वास्तविकता र समाजको विकास र उन्नतिको यथार्थ कुरा मात्र गर्छ।पाप पुन्य जस्ता धार्मिक कानुन नभएर लोकतन्त्रिक उन्नत र समृद्ध सम्विधानको परिपालना र अभ्यासलाई जोड दिन्छ।यसरी अप्रमाणिक,अदृस्य तथा अमुर्त धार्मिक मुल्य मान्यतालाई तपसीलमा राखेर लौकिकवादलाइ अनुसरण गर्नु नै धर्म निरपेक्षताको अर्को विशेषता हो।

इ):-विज्ञान :-मानिसको मुक्तिको मुख्य उपाय विज्ञान हो।सुक्ष्म तत्व देखि विशाल व्रमाण्ड सबै विज्ञानमा आधारित छ।विज्ञानले नै मानिसको जिवन शैली र देशको सर्वाङ्गीण विकास सम्भव छ।भौतिक विकास देखि आत्मीक विकासमा पनि प्रयोग र अनुसन्धान जस्ता विज्ञानका मुलभुत कुराहरुले नै भुमिका खेलेका हुन्छन।देशको आर्थिक,सामाजिक,उन्नतीको आधार नै विज्ञान हो।विज्ञानद्वारा नै स्वास्थ्य,शिक्षा,यातायात लगायतका कुराहरुको प्रबन्ध मिलाएर गुणस्तरीय जिवनको सम्भावना दिन्छ।त्यसैले धर्म निरपेक्षताको चरित्र मा विज्ञानले अन्योन्याश्रीत सम्बन्ध स्थापित गरेको छ।

ई):-धर्म निरपेक्ष र नैतिकता:- धार्मिक हुनु नै नैतिक हुनुको प्रमाण हैन।नैतिकवादी हुनको लागि धार्मिक हुनु आवश्यक छैनlसमझदारी र समवेदनाको सही अभ्यासले पनि नैतिक हुन सकिन्छ। धार्मिक नैतिकता भन्दा संबैधानिक नैतिकता हुनु जरुरी छ।मानिस नैतिकवान हुनु जरुरी छ तर त्यसकालागि धार्मिक हुनु आवश्यक छैन। धर्मले अनुमति दिएका थुप्रै क्रियाकलाप अनैतिक पनि हुन्छन र भएका उदाहरणहरु छन । त्यसैले धार्मिक हुनु भन्दा नैतिकवान हुनु प्रमुख कुरा हो।यसरी धर्म निरपेक्षताको अर्को प्रमुख विशेषता संबैधानिक नैतिकता पनि हो।

२] धर्म निरपेक्षताको प्रयोगात्मक धारणा :-

धर्म निरपेक्षताको प्रयोगात्मक दृष्टिकोणबाट हेर्दा यसले व्यक्ति स्तरिय,समाज स्तरीय र राज्य स्तरीय धारणा प्रकट गर्दछ। एउटा व्यक्ति पनि उल्लेखित दार्शनिक विशेषताहरुलाई आफ्नो जिवन व्यवहारमा प्रयोग गरेर धर्म निरपेक्षताको उदाहरण दिन सक्छ र यस्ता उद्वार व्यक्तिहरू समाजमा प्रसस्त भेटिन्छन्। त्यसैगरी एउटा सिङ्गो समाज पनि धर्म प्रति उपेक्षा अर्थात् तटस्थ रहदै आफ्नो विवेक र सभ्यताको समृद्ध व्यवहार प्रदर्शन गरेर धर्म निरपेक्षताको अभ्यास पस्किन सक्छ। अहिले आलोचनात्मक दृष्टिकोण राख्ने आधुनिक समाज यसरी नै विकास भइरहेको यत्रतत्र हामी अनुभव गर्न पाउछौं। यी दुई स्तरलाई छोटकरीमा यही बिट मार्दै राज्य स्तरीय धर्म निरपेक्षताको प्रयोगात्मक अभ्यासलाई निम्न दुई प्रकारमा बाडिएको छ।

राज्य स्तरीय धर्म निरपेक्षताको प्रकार:-

क)-कठोर/नकरात्मक/उग्र :- धर्म बाट पुर्ण रुपमा दुरी अपनाएको राज्यलाई यस श्रेणीमा राखिन्छ।यस किसिमको राज्यमा धर्मलाई कुनैपनि किसिमको मान्यता दिईदैन। राज्यले कुनै पनि धार्मिक सःगठन तथा मन्दिर,मस्जिद,चर्च,सिनागग आदिलाई राज्य कोषबाट अनुदान या आर्थिक सहयोग गर्दैन ।फ्रान्सलाई यस राज्य श्रेणी निकट राखेर हेर्न सकिन्छ ।१९०५ बनेको फ्रान्सको तेस्रो संविधानले यस कुरालाई अनुबन्धित गरेको छ।हाल फ्रान्सको यो पाँचौं सम्विधान हो।सन २००४ मा फ्रान्सले विध्यालय,चिकित्सालय र सरकारी कार्यालयमा कुनै पनि धर्म संग सम्बन्धित भेषभुषा,चिन्ह ,संकेत आदि लाएर आउन नपाउने कानुन कार्यान्वयनमा ल्याएको छ। साथै २०११मा सार्वजनिक ठाउँमा बुर्का लाउन निषेध गरिसकेको छ। २०२० मा आएर इस्लामिक आतङ्ककारीको हमालाको कारण थप नयाँ कानुन राज्यले ल्याउने घोषणा गरेको छ ।राज्यले कुनै पनि धर्म संग सम्बन्ध राख्दैन । तैपनी फ्रान्समा बर्षमा जम्मा ११ दिन मात्रै सार्वजनिक बिदा छन।जस्मा ५ दिन चाही नागरिक बिदा (féte de civils) बाँकी ६ दिन धार्मिक बिदा छन।अब कुरा के छ भने यो राष्ट्र धर्म निरपेक्ष राष्ट्र हो।तर यि सबै धर्म संग सम्बन्धित बिदाहरु क्रिष्ट्यानिटी र त्यो पनि क्याथोलिक संग मात्र संबन्धित छन।यसले अपवादको अस्तित्वलाई संवैधानिक रुपमै स्विकारेको देखिन्छ। यसरी राज्य धार्मिक हस्तक्षेपबाट स्वतन्त्र रहन्छ साथै धर्मको आधारभुत मुल्य मान्यतामा आँच नपुग्ने गरि राज्यले आवस्यक नियमन पनि गर्न सक्छ। यधपि राज्यको संविधानलाई उलङ्घन नगरी राज्यका नागरिक र समाज आफ्नो धर्म मान्न स्वतन्त्र हुन्छन।तर राज्यको कुनै धर्म हुदैन र ऊ धर्मबाट टाँढा रहन्छ।

ख)-उदार/सकरात्मक/विनम्र:-

सबै धर्मलाई बराबर निकट सम्बन्ध राख्ने राज्य प्रणालीलाई उदार धर्म निरपेक्ष राष्ट्र भनिन्छ।यसलाई साम्प्रदायीक धर्म निरपेक्ष राष्ट्र पनि भनिन्छ।राज्य कुनै एक धर्मको मात्र समर्थक हुदैन।राज्य भित्र अवस्थित सबैलाई उत्तिकै सम्मान र स्थान दिन्छ।राज्यको परिचयमा धर्म गौण रहन्छ तर समाज तथा समुदाय धर्म प्रति सापेक्ष नै रहन्छन ।यसले कुनै साम्प्रदायिक विशेष संग सम्बन्ध नराखे पनि सबै धर्मलाई सम्मान र समनिकट दुरीमा राख्दछ।सबै धर्मलाई मान्यता दिन्छ।अमेरिकालाई यस राज्य श्रेणीमा नजिक राखेर हेर्न सकिन्छ। तर अमेरिकामा पनि अपवादहरु प्रसस्त छन।

राज्य र धर्मको सम्बन्ध

राज्य र धर्मको सम्बन्धलाई अध्ययन गर्न संसारमा अभ्यासमा रहेका देशहरुलाई सरसर्ती विश्लेषण गर्दा चार प्रकारमा विभाजन गरेर हेर्न सकिन्छ।
१- धर्मतन्त्र राज्य (theocracy) :– यस किसिमको राज्यमा धर्मग्रंथ नै त्यो देशको संविधान हुन्छ। धर्म प्रमुख नै राज्य प्रमुख या धर्म प्रमुख द्वारा नियन्त्रणीत व्यक्ति राज्य प्रमुख हुन्छ। त्यसै गरि धार्मिक विशेषाधिकारको व्यवस्था गरिएको हुन्छ।भ्याटिकन सिटी यसको उदाहरणको रुपमा लिन सकिन्छ। यसलाई देशको दर्जा दिएको छ।यहाँ पोप नै राज्य प्रमुख मानिन्छ। तिब्बत पनि एक जमनामा धर्मतन्त्र राज्य थियो।इन्टरनेटमा हेर्दा ग्रिसको एउटा विशेष राज्य Mount Athos पनि यही प्रकृतिको हो,जहाँ महिला जान मनाहि छ।इरान पनि धर्मतन्त्र कै विशेषता भएको राज्य हो।

२-धर्म प्रभावित राज्य:-कुनै एक विशेष धर्मलाई राजकीय धर्मको रुपमा विशेषाधिकारको प्रबन्ध गरिएको राज्यलाई धर्म प्रभावित राज्य भनिन्छ।यसमा धर्मको ढाँचा भन्दा राज्यको ढाँचा स्वतन्त्र हुन्छ।डेनमार्क,स्विडेन, नोर्वे ,ईङ्गलैण्ड औपचारिक रुपमा घोषणा नगरे पनि ईसाई धर्म प्रभावित राष्ट्रको रुपमा देखाइएको पाइन्छ।ईस्लाम पाकिस्तान, बङ्गालादेश, साउदी लगायत खाडीमुलुकहरुको राजकीय धर्म ईस्लाम हो।बौद्ध धर्म प्रभावित देशमा भुटान,लावस,श्री लङ्का,कम्बोडिया आदि हुन। हिन्दू धर्म प्रभावित राष्ट्र मा नेपाल,ईन्डिया पर्छन यद्यपि संविधानतः दुवै देश धर्म निरपेक्ष हुन।यो कुरा लेखिरहँदा धर्म निरपेक्ष राष्ट्रको विशेषताहरुलाई सांक्षी राखेको छु अन्यथा भएमा माफि चाहन्छु।यहुदी धर्म प्रभावित राष्ट्र मा एक मात्र इज्रायल छ। राज्यमा विशेष धर्मलाई विशेष अधिकार दिइन्छ ।

३ :-धर्म निरपेक्ष राज्य :-धर्म निरपेक्ष राज्यको कुनै पनि धर्म राजकिय धर्म हुदैन।यस राज्य प्रणालीमा धर्मको समर्थन र विरोध दुवै हुदैन।राज्य र धर्मको कार्यक्षेत्र स्वतन्त्र हुन्छ।प्रत्येक नागरिकलाई धार्मिक स्वाधीनता हुन्छ ।धार्मिक भेदभाव हुदैन।राष्ट्रिय झण्डा, चिन्ह या वस्तुमा कुनै धर्म विशेषको प्रतिनिधित्व हुनु हुदैन।धर्म निरपेक्ष राष्ट्रमा संविधानतः संसारका थुप्रै देसहरु धर्म निरपेक्ष छन।हाम्रो नेपाल पनि भर्खरै भर्खरै धर्म निरपेक्ष राष्ट्र भएको छ ।यधपि धर्म निरपेक्षताको लागि फ्रान्समा जस्तो जनतासंग रिफरेन्डम लिइएको तथा सोधिएको भने थिएन।

४:-धर्म विरोधी राज्य:-मार्क्सवादी फिलोसफीमा आधारित राज्यलाई यस श्रेणीमा राख्न सकिन्छ किनकी धर्म आम जनताको लागि अफिमको संज्ञा उनले दिएका छन।उनले किन भने ?कुन परिस्थितिमा भने ?त्यसको चर्चा नगरी सिधा रुपमा हेर्दा उनको सिद्धान्त धर्म विरोधी भएको पुष्टि अरु जान्ने सुन्ने ले गरेको हामी पाउँछौं।यस किसिमको राज्यले धर्म को पुर्ण विरोध गर्दछ।USSR को समयमा रसियामा यो धारणामा आधरित अभ्यास खुबै भयो।चर्च भत्काउने र जलाउने कार्य भयो।कम्बोडिया मा पोल पोस्ट को पाला बौद्ध धर्मावलम्बी माथि हिँसा भयो।नर्थ कोरियामा कुनै पनि आध्यात्मिक धर्म माथि प्रतिबन्ध लगाएको छ। माउतसेतुङ को समयमा धर्म माथि नियन्त्रण गरिएको थियो तर हाल धर्म मान्न पाइन्छ तर राज्यको निग्रानीमा।यस किसिमको राज्यलाई अथिस राज्य/नास्तिक राज्य पनि भनिन्छ।

अत्यमा:- के हाम्रो देश नेपालले धार्मिक प्रतिनिधत्व गर्छ, गर्दैन?के हाम्रो संविधान र राजनीतिक पार्टी धर्म निरपेक्षता को पक्षमा छ?के हाम्रो जिवनशैली धर्म निरपेक्ष छ?

संविधानत: नेपाललाई धर्म निरपेक्ष राष्ट्र को दर्जा दिएको छ तर अझै पनि केही धाराहरु निरपेक्ष छैनन् भनेर बजार तिर सुनिन्छ ।किनकी राष्ट्रिय जनावर र झण्डा को बारेमा संविधानले जसरी सुरक्षित गरेको छ त्यसले हिन्दु धर्मको पक्षपोषण गर्दछ भन्ने गर्छन।सत्य के पनि हो भने वैज्ञानिक रुपमा सुर्य उर्जाको प्रमुख स्रोत हो भने चन्द्रमा पृथ्वीको एक मात्र प्राकृतिक भुउपग्रह हो जसले पृथ्वीको ऋतु परिवर्तन र रोटेसनमा प्रमुख भुमिका खेलेको हुन्छ। वास्तवमा यि दुवै निर्जीव छन र आ आफ्नै स्वभाविक धर्म को परिपालना गरिरहेका छन र यहाँ हामी साम्प्रदायिक रङ्ग दिइरहेका छौँ।यति हुँदा हुँदै पनि जुन तरिकाले राज्यले मन्दिर बनाउन बजेट निकासा गर्यो त्यो उग्र धर्म निरपेक्षता को विशेषतामा पर्दैन तर उदार दृष्टिकोण मान्न भने सकिन्छ ।धार्मिक परम्परा भन्दा देशको संवैधानिक नै प्रमूख हो।संविधानले महिला पुरुष बराबरी भने पछि पशुपतिमा किन पुरुष पण्डित मात्रै नियुक्ति हुन्छन?यस प्रश्नको म ठ्याक्कै जवाफ त छैन तर धर्मको मुल आधारभुत मान्यतालाई मात्र संविधानले धार्मिक स्वाधीनता दिन्छ तर अरु कम महत्वपूर्ण कुरामा संविधानले नियन्त्रण र धार्मिक सिमित्ता लगाउन सक्छ। धार्मिक स्वाधीनताको अर्थ अराजकता हैन।बहुसंख्यक या अल्पसंख्यक कसैको पनि रुढिवादीलाई संविधान ले अनुमति दिनु हुदैन।संविधानतः औपचारिक रुपमा नेपाल धर्म निरपेक्ष राष्ट्र हो।तर यहाँका केही राजनीतिक पार्टी र समुदाय धर्म निरपेक्षता लाई अवलम्बन गर्दैनन र अष्पष्ट पनि खन तर सम्मान र सहिष्णुता भने राखेको पाइन्छ। तर पछिल्लो समयमा असहिष्णु जमात पनि बढेको देखिन्छ।

फ्रान्समा हाल सम्म पाँच सम्विधान बनिसक्यो। १९०५ मा तेस्रो संविधानमा laïcité को प्रयोग भएको छ।सार्वजनिक स्थलमा तथा कार्यलयमा धार्मिक सङ्केत तथा पहिचान झल्कने कुरामा प्रतिबन्ध लगाईएको छ।धर्मबाट दूरी राख्ने भन्दा भन्दै पनि २००७ मा निकोलस सार्कोजी भेटिकन गएका थिए र २००८ मा पोप फ्रान्स को भ्रमणमा आएका थिए।फ्रान्सलाई सकरात्मक धर्म निरपेक्षता मा लैजानु पर्छ भन्ने राय पनि राखेका थिए।यस कुरालाई दुई देशका राज्य प्रमुखहरूको राजनीतिक भेटको रुपमा पनि न्याय गर्न चाहिँ सकिन्छ तर यो नै सबै सत्य चाहिँ हैन।चर्च अफ इङ्ल्यान्ड को प्रमुखको रुपमा ईङ्गलैण्ड को महारानी छन र पनि इङ्ल्यान्डले धर्म निरपेक्षता कै संवैधानिकता प्रकट गर्छ।उच्च सदन house of lords मा पनि २६ जना चर्च बाट छानिन्छन।संसद सुरु हुनु अघि धार्मिक प्रार्थना बाट हुन्छ। अमेरिकाको संविधान संसारको पहिलो लिखित संविधान हो।पहिलो सम्विधानमा नै धर्म निरपेक्षता को उल्लेख गरिएको थियो। यसमा पनि सकरात्मक/नम्र धर्म निरपेक्षता को अभ्यास नै भएको छ। तर यसमा पनि थुप्रै अपवाद हरु छन।जस्तो डलर मा in God we trust लेखेको छ। अधिकांश सार्वजनिक विदा क्याथोलिक ईसाइ को धर्म संग सम्बन्धित छन।ट्रम्पको एक भाषणमा भनेका छन “ईसाई को रक्षा को लागि कुनै पनि हद सम्म जान सक्छु त्यसका लागि म राजनीतिक रुपमा सही नहुन पनि सक्छु।”तुर्की पनि सेकुलर स्टेट हो ।यो कमाल अतातुर्क १९२८|१९३७ मा सरियत कानुनलाई समाप्त गरेर युरोप जस्तै धर्म निरपेक्षतालाई स्थापित गरे।कालान्तरमा धार्मिक मुल्य मान्यता हावि हुदै गयो।अर्थोडक्स चर्चको रुपमा रहेको निकै पुरानो हेगिया सोफियालाई मस्दिज हुदै संग्रालयमा परिणत गरियो।

तर हाल आएर अर्दोगानले फेरि हेगिया सोफिया संग्रालयलाई मस्दिजमा परिणत गराएको विषयले तुर्कीको धर्म निरपेक्षता माथि प्रश्न उठाईरहेको छ। यसबाट धर्म प्रभावित राज्यको रुपमा बाटो तय गर्दै गरेको हो की भन्ने देखिन्छ।

इरान पनि एक सेकुलर राज्यबाट धर्मतन्त्र राज्यमा परिणत भएको हो।तुर्की अझै संवैधानिक रुपमा सेकुलर छ तर इरानको त्यो सेकुलर पहिचान समाप्त भइसकेको छ।यावत अपबाद भनौं या स्वभाविक जे भनौं उग्र धर्म निरपेक्ष देखी नम्र धर्म निरपेक्ष सबैमा कतै न कतै झुकाव देखिन्छ। जे होस,धर्म निरपेक्षता एउटा सभ्य समाज निर्माणको मेरुदण्ड हो।अल्पसंख्यकहरु लाई पनि सम्मान र समान राज्य व्यवहारको सुनिश्चिता पनि हो। धन्यवाद


प्रकाशित | २२ कार्तिक २०७७, शनिबार ०९:४७