पोखरामा आन्तरिक पर्यटक खचाखच

पोखरा । गत वर्ष हिउँदमा नै फेवा ताल किनारमा पाल्मबिच एन्ड लाउन्ज बार खोल्न यहाँका दुई युवा कम्मर कसेका थिए । बार निर्माण अन्तिम चरण हुँदै गर्दा चैत ११ देखि देशभर बन्दाबन्दी भयो । दुई करोड ३० लाख लगानी डुब्ने पीडा उनीहरूमा थपियो ।

अन्तर्राष्ट्रिय उडान रोकिएपछि पोखराका पर्यटकीय गतिविधि ठप्प बने । विदेशी र स्वदेशीले भरिभराउ हुने पोखरा सुनसान बन्यो । गत चैतदेखि दशैँ, तिहारको मौसममा समेत पोखरामा खासै रौनकता आउन सकेको छैन । विशेष गरेर सधैँ पर्यटकका लागि व्यस्त देखिने लेकसाइड अझै सुनसानजस्तै छ ।

सो रेस्टुरेन्टका सञ्चालक रवि तिमिल्सिना र अभिषेक गुरुङले दशैँ सकिएलगत्तै सञ्चालनमा ल्याउनुभयो । यस्तो बेला रेस्टुरेन्ट चल्दैन कि भन्ने लागेकामा अहिले सेवा दिन नसकेर हैरान भएको उनीहरूको भनाइ छ । कोरोना भाइरसका कारण आन्तरिक र बाह्य पर्यटक नभएर लेकसाइडका होटल, रेस्टुरेन्ट सुनसान छन् । लेकसाइडबाट नजिकै रहेको यो रेस्टुरेन्ट गुल्जार छ ।

रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हप्ता दिन नपुग्दै यहाँ दैनिक चार सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । रेस्टुरेन्टको क्षमता दुई सय व्यक्तिलाई सेवा दिनसक्ने छ । सञ्चालक रवि तिमिल्सिनाले भन्नुभयो, “हामीले नयाँपन दिएका छाँै । त्यसैले आन्तरिक पर्यटकको आगमन बढेको छ । अहिलेको अवस्थामा यस्तो होला भनेर सोचेका पनि थिएनौँ । हाम्रो रेस्टुरेन्टको कुनै टेबल–कुर्ची बिहानदेखि साँझसम्म खाली हुँदैनन् । हामीले ग्राहकलाई सेवा दिन सकिरहेका छैनौँ । ”
उहाँका अनुसार यहाँ इन्डोनेसियाको बाली, अमेरिकाको फ्लोरिडा सहरको झल्को दिनेगरी डेकोरेसन गरिएको छ । सञ्चालक तिमिल्सिनाका अनुसार अहिले दैनिक तीन लाख रुपियाँको कारोबार भइरहेको छ । अहिले रेस्टुरेन्टमा २६ जनाले रोजगारी पाइरहेका छन् । अहिले आउने पाहुना ६० प्रतिशत पोखराबाहिरका छन् ।

उक्त रेस्टुरेन्टमा फोटो खिच्नकै लागि पुग्नेको पनि कमी छैन । समुद्रको छेउमा चराको गुँडजस्तोमा फोटो खिच्ने ठाउँ बाली सहरमा जस्तै यो रेस्टुरेन्टमा पनि बनाइएकाले फोटो लिनेको भीड लागेको हुन्छ ।

सँगै रहेको अर्काे अलफान्जो रिसोर्ट पनि आन्तरिक पर्यटकले भरिएको छ । त्यहाँ पनि कोरोनाले खासै प्रभाव परेको छैन । दैनिक सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रिसोर्ट सञ्चालक सुभाष भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दशैँपछि रिसोर्टमा आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । पारिवारिक वातावरण खोज्नेहरू यहाँ आउनुुहुन्छ । ”

सुभाष भट्टराई र अमित गौतमले कोरोनाले आठ महिना बन्द भए पनि दशैँपछिको व्यापारबाट खुसी व्यक्त गर्नुभयो । आठ रोपनीमा फैलिएको रिसोर्टमा स्विमिङ पुल, बस्ने कोठा, जिम हलका साथै एक सय वर्ष पुरानो आँपको रुख पनि रहेको छ । त्यसैले यो रिसोर्टको नाम अल्फान्जो राखिएको हो । हाल दशैँपछि रिसोर्टमा ४२ जनाले रोजगारी पाएका छन् ।

पोखरामा विगतमा राम्रो चलेका होटल, रेस्टुरेन्ट तथा रिसोर्टको अवस्था लामो समयको बन्दाबन्दी पछि नाजुक भए पनि दशँै लागेपछि केही रेस्टुरेन्टको कमाइ भने भ्याइनभ्याई भएको अवस्था छ । यसरी ग्राहकलाई राम्रो सेवा सुविधा दिनसके तालको छेउभन्दा टाढा सञ्चालनमा आएका व्यवसायले पनि राम्रो आम्दानी दिन सक्छन् भन्ने उदाहरण यी रेस्टुरेन्ट तथा रिसोर्ट हुन् । गोरखापत्र दैनीक


प्रकाशित | २१ कार्तिक २०७७, शुक्रबार १०:१४