काठमाडौं -नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो।
गत २४ घण्टामा ३ हजार ५१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ५ सय १४ सक्रिय संक्रमित छन्।

त्यस्तै, गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन भेटिएका ३ हजार ५१ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ९८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १ सय ४७ र ललितपुरमा १ सय ६० जना संक्रमित भेटिएका हुन्।
गत २४ घण्टामा १३ हजार ६८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षणको संख्या १५ लाख ७ हजार १ सय ९० पुगेको छ। हाल १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित | २० कार्तिक २०७७, बिहीबार १८:२५