काठमाण्डौलाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगरौं : मेयर शाक्य

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको दावी गर्नुभएको छ । मेयर शाक्यले पत्रकार सम्मेलन गर्दै काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको र काठमाण्डौ उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गर्नुभएको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाण्डौ महानगरपालिका प्रतिवद्ध रहेको शाक्यले बताउनुभयो ।

‘हुनेखानेले मात्रै नभई दीनहीनले पनि स्वस्थ्यकर र पेटभरि खाना खान पाउनुपर्ने भन्दै मेयर शाक्यले श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्नेमा अल्छी बनाउनु नहुने धारणा राख्नुभयो ।

शाक्यले भन्नुभयो, ‘कोरोनाको नाममा सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाण्डौ मागि खानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने हाम्रो चाहना छ ।’


प्रकाशित | १९ कार्तिक २०७७, बुधबार १४:५७