नेतृत्व तहमा सेवाभाव भएका असल र अनुभवी तथा सवैको साझा व्यक्ति छनोट गर्न अध्यक्षका उम्मेदवार थापाको आह्वान

न्युयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गर्नुभएको संजय थापाले एनआरएनएको नेतृत्व तहमा एनआरएन बुझेको, जानेको र सबैको हो भने मानेको ब्यक्तीको खाँचो रहेको बताउनुभएको छ । उम्मेदवारी दर्तापछि थापाले अमेरिकालाई सकेसम्म सबैको बनाउन समावेशी तथा भौगोलिक सन्तुलन सहितको टिम अनिवार्य आवश्यक रहेको समेत बताउनुभएको छ ।

थापाले भन्नुभएको छ, ‘नेतृत्व तहमा सेवाभाव भएका असल र अनुभवी व्यक्तिहरुको छनोट हामी सवैको साझा दायित्व रहेको छ । तर दुखका साथ भन्नु पर्छ कि विविध कारणले एनआरएन अमेरिका हामीले अपेक्षा गरेको जस्तो भइसकेको छैन , यसलाई अपेक्षित बनाउन अझै धेरै गर्न बाँकी नै छ ।’

उहाँले थप्दै भन्नुभएको छ, ‘हाम्रो समुदायलाई यो त्यो ढंगले विभाजित र कमजोर पार्ने तमाम पहल र प्रयत्नलाइ सम्पूर्ण रुपमा निस्फल पार्नु र सवैलाई एकतावद्ध गर्नु पर्ने एनआरएनको प्रमुख कार्यभार सम्पन्न हामी एकपटक फेरी प्रतिवद्ध रहनै पर्नेछ र त्यसो गर्न एनआरएन बुझेको , जानेको र यो सबैको हो भने मानेको नेतृत्व अनिवार्य छ ।’ थापाले जारी गर्नुभएको बिज्ञप्ति जस्ताको तस्तै ;

आदरणीय दाजुभाइ दिदि बहिनिहरु हार्दिक अभिवादन

आपसी सुख दुखमा साथ रहने, आफ्नो र आफ्नाहरुको स्वार्थ भन्दा समाज र सामाजिक हितलाइ महत्वपूर्ण मान्ने हामी नेपालीहरुको संस्कार हो भन्ने हामीले प्रमाणित गरेकै छौं l आफुलाई सदैव समाजको उन्नति प्रगतिमा लगाउँदा जीवन सार्थक हुन्छ भन्ने शिक्षाले गर्दा जीवन र जगत बुझे देखि यो वा त्यो ढङ्गले म पनि समाजको हित हुने काममा क्रियाशील रहँदै आएको छु l चाहे जन्मभुमि नेपालमा हुँदा होस, वा उच्च शिक्षा हासिल गर्न भारत बस्दा होस वा अहिले अमेरिकामा रहँदा होस आफुले जानेसम्म र सकेसम्म आफुलाई समाज उपयोगी बनाउदै आएको छु , आफ्नो समय, योग्यता, क्षमतालाइ समाजको हितमा यो वा त्यो ढंगले प्रयोग गर्दै आएको यहाँहरुलाइ सर्वविदित नै छ l त्यही क्रममा कहिले मातृभूमिमा निरकुंश पंचायती व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र स्थापनार्थ संचालित शान्तिपूर्ण आन्दोलनको मोर्चामा लागियो त कहिले प्रवासी नेपाली विद्धार्थीको हक हित र सहजताको ग्यारेण्टी गर्ने अभियानमा लागियो l कहिले जनप्रतिनिधिको रुपमा आफ्नो गाउँ ठाउँको विकास र जनतालाइ सुशासनको ग्यारेण्टी गराउने मोर्चामा त कहिले निरङ्कुश राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापनार्थ संचालित शान्तिपूर्ण जनआन्दोलनको मोर्चामा सक्रिय सहभागी भइयो l अनि पछिल्लो बर्षहरुमा अमेरिकाको नेपाली समुदायको सेवामा लागिरहेको, यहाँका नेपालीहरुसंग काँधमा काँध मिलाएर हिंडेको तथ्य त यहाँहरु सवैको सामु प्रष्टनै छ l अमेरिकामा क्रियाशील अग्रणी सँस्था प्रवासी नेपाली मंचको बिभिन्न जिम्मेवारीमा रहेर मैले नेपाली समुदायको हितमा गरेको कामको वारेमा यहाँहरु सबै जानकारनै हुनुहुन्थ्यो मैले उक्त संगठनको प्रमुखको रुपमा पनि एक कार्यकाल विताएको र त्यो क्रममा मातृभुमिमा नेपाल देखि कर्मभूमि अमेरिकासम्म बस्ने नेपाली दाजुभाइ दिदि वहिनीहरुको हितका खातिर दत्तचित्त भएर लागेको सवैका सामु प्रष्ट भएकै हुनाले यहाँहरुले मलाइ अत्याधिक मत सहित हामि सबै आशा र भरोशाको केन्द्र , सबैको साझा सँस्था एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा विजित बनाउन भएकै हो l

यहाँहरुको मत र विश्वासको कसीमा उत्रिन मैले आफुले योग्यता , क्षमताले भ्यायसम्म इमान्दारीसाथ काम मात्रै गरिन , त्यसको अलावा एनआरएन जस्तो साझा सँस्थाको जिम्मेवार पदमा हुँदा कसरि सवै साझा हुनुपर्छ , कसरि विगतको आवद्धताले वर्तमानलाइ निर्देश गर्नु हुदैन भन्ने पनि प्रमाणित गरेर देखाएको छु l एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर मात्रै हुँदा पनि मैले मूल नेतृत्वमै रहेको जत्तिकै समय दिएँ भन्दा यहाँहरुले खण्डन गर्नु हुनेछैन वा भनौ गर्न सक्नु हुनेछैन l चाहे त्यो हेल्प डेस्कमा रहेर खेलेको भूमिका होस वा गैर आवासीय नेपाली नागरिकता ऐन सबैको हित अनकुल बनाउन नेपालसम्म गएर गरेको लविङ्ग होस वा सँस्थाको हरेक गतिविधि विश्वसनीय र सर्व स्वीकार्य हुने गरि गरिनु पर्छ भनेर अन्तर संगठनमा गरेको अनवरत संघर्ष होस सबै यहाँहरुका सामुन्ने नै छन l मैले भन्नै पर्छ मैले जे गरेँ त्यो सबैको निम्ती गरेँ अनि सबैको माया , साथ र समर्थन भएकोले नै गरें l हामि सबैलाइ थाहाछ अहिले फेरी एक पटक एनआरएन अमेरिकाको नया नेतृत्व छनोटको समय आएको छ l यसको नेतृत्व तहमा सेवाभाव भएका असल र अनुभवी व्यक्तिहरुको छनोट हामी सवैको साझा दाइत्व रहेको छ l दुखका साथ भन्नु पर्छ कि विविध कारणले एनआरएन अमेरिका हामीले अपेक्षा गरेको जस्तो भइसकेको छैन , यसलाई अपेक्षित बनाउन अझै धेरै गर्न बाँकी नै छ l

हाम्रो समुदायलाइ यो त्यो ढंगले विभाजित र कम्जोर पार्ने तमाम पहल र प्रयत्नलाइ सम्पूर्ण रुपमा निस्फल पार्नु र सवैलाई एकतावद्ध गर्नु पर्ने एनआरएनको प्रमुख कार्यभार सम्पन्न हामी एकपटक फेरी प्रतिवद्ध रहनै पर्नेछ र त्यसो गर्न एनआरएन बुझेको , जानेको र यो सबैको हो भने मानेको नेतृत्व अनिवार्य छ l त्यही सत्यको मनन गर्दै , यहाँहरुको सबैको भावना अनुसारको एनआरएन ग्यारेण्टी गर्न एक पटक आफैंले नेतृत्व सम्हाल्नु पर्ने अवस्था आएको महशुस गरको हुनाले यहाँहरु सबैको साथ , सहयोग रहने विश्वास सहित सवै सकारात्म कामको सुरुवात आफ्नै घरवाट गर्न पर्छ भन्ने मान्यताका साथ छोरा पुजय थापा प्रस्तावक र छोरी सम्पुर्ण थापा समर्थक राखेर NRNA NCC USA(वोर्ड २०१९-२०२१) को अध्यक्ष पदमा आज उमेदवारी मनोनयन गरको छु l एनआरएन अमेरिकालाइ सकेसम्म सबैको बनाउन समावेशी तथा भौगोलिक सन्तुलन सहितको टिम अनिवार्य हुन्छ भन्ने बुझेको छु , यसमा आफ्नो तर्फबाट भूमिका खेलिरहेको छु l सबैसंग सहकार्यमा साझा सपनालाइ साकार पार्न सक्ने नीति , नेतृत्व र कार्यक्रम सहित यहाँहरुसंग विस्तृतमा आउनेनै छु l अहिलेको निम्ती यहाँहरुको आशिर्वाद , शुभकामना र सदासयताको अपेक्षा गरेको छु l निर्वाचन अभियानको दौरान यहाँहरुको विचमा आउने नै छु l
यहाँहरुको साथमा एनआरएनको नेतृत्व गर्ने प्रतिवद्धता सहित !

संजय थापा


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १०:०५