टेकु अस्पतालले पनि कोभिडका बिरामी उपचारका लागि शुल्क तोक्यो

काठमाडौं । टेकु अस्पतालका रुपमा चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बिरामीको उपचारका लागि शुल्क लिन थालेको छ। अस्पतालले कोरोना संक्रमण भएका व्यक्तिको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम समेत तोकेको हो ।

अस्पतालका निर्देशक डा सागर राजभण्डारीले सरकारले कोभिड बिरामीका उपचारका लागि दिँदै आएको रकम नदिने भएपछि बाध्य भएर उपचार खर्च लिनु परेको र सोहीअनुसार शूल्क निर्धारण गरिएको जानकारी गराउनुभयो ।

अस्पतालले सार्वजनिक गरेको उपचार शुल्क विवरण अनुसार भेन्टिलेटरसहितको आईसीयूमा उपचार गर्नुपर्ने कोभिड बिरामीले दैनिक १५ हजार रकम तिर्नुपर्नेछ। ५० हजार धरौटी रकम तोकिएको छ।

आइसियु मात्र चाहिने र मध्यम जटिल (क्याविन आइसोलेसन) मा उपचार चाहिने बिरामीले ३० हजार धरौटी रकम र दैनिक सात हजार ५ सय उपचार खर्च तिर्नुपर्नेछ।

मध्यम जटिल अवस्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा बस्दा २० हजार धरौटी रकम र दैनिक ३५ सयका दरले उपचार शुल्क तिर्नपर्ने छ।

No description available.

विपन्न, जेष्ठ नागरिक (७० वर्षभन्दा माथि), अति अपाङता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था र आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट हुने अस्पतालले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले निशुल्क कोरोना परीक्षण र उपचार बन्द गरेको छ। स्वास्थ्य मन्त्रालयले कार्तिक २ गतेबाट लागु हुने गरी सबै कोभिड अस्पताललाई कोरोना संक्रमितको उपचार सशुल्क गर्न निर्देशन दिएको थियो।


प्रकाशित | १६ कार्तिक २०७७, आईतवार ११:४३