प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौँ -सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ ।

माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।
सर्वोच्चले आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ ।

‘यस प्रकारका कानुनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिन्छ । अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन,’ आदेशमा भनिएको छ ।

इजलासले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलताका कारण यसलाई छिटो छरितोरुपमा निरुपण गर्नुपर्ने भन्दै अग्राधिकार दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा भएको हिंसाका घटनामध्ये ५ हजार व्यक्तिको हत्याको जिम्मेवारी आफूले लिने सार्वजनिकरुपमा नै बताएकाले उनलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरिएको थियो ।


प्रकाशित | २६ फाल्गुन २०७९, शुक्रबार १७:२०